बिहीबार, वैशाख १३, २०८१

प्रधानमन्त्री ओली संघीयता विरोधी : शेखर कोइराला

नेपालखोज २०७७ माघ ३ गते १४:१२

विराटनगर । नेपाली काँग्रेस नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताएका छन् ।

शनिबार मानव अधिकार तथा शान्ति समाज मोरङले आयोजना गरेको ‘असंवैधानिक एवं अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन : प्रतिगमनको सिलसिला’ विषयक गोष्ठीमा काँग्रेस नेता कोइरालाले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री ओलीजी संघीयता विरोधी हो, त्यसैले अर्को विधेयक ल्याएर प्रमुख जिल्ला अधिकारीलाई अहिलेको भन्दा दोब्बर अधिकार थप्न लाग्नु भएको छ,’ उनले भने– ‘त्यसैले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र राष्ट्र बचाउने दायित्व सबैको काँधमा आएको छ ।’

त्यस्तै कोइरालाले प्रधानमन्त्री ओली अराजक भएकाले मुलुक द्वन्द्वमा फस्दै गएको समेत बताएका छन् ।

ओलीले सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाउँदै उनले भने–‘प्रधानमन्त्री ओलीजीले मैले जे बोलेँ, जे भनेँ त्यही संविधान हो भन्ने बुझ्नु हुन्छ तर त्यो नेपाली जनतालाई स्वीकार छैन । त्यसैले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउन मुलुकमा अब एक पटक पुनः सशक्त आन्दोलनको आवश्यकता परेको छ ।’

प्रधानमन्त्री ओलीले वैशाख १७ गते निर्वाचन गराउन प्रतिनिधिसभा विघटन गरेको हो कि अरु विषय पनि छ भनी मानव अधिकारकर्मी, नागरिक समाज तथा बुद्धिजिवीलाई सोच्न र त्यही अनुसार निर्णय लिएर आन्दोलनमा जुट्न कोइरालाले आग्रह गरे ।

प्रतिक्रिया