ठूला घरानाको आम्दानीमा कमि आएको असर सरकारको राजस्वमा, आयकर र अन्तः शुल्कमा गिरावट

नेपालखोज २०७७ माघ ४ गते १०:५६

काठमाडौं । ठूला व्यवसायिक घराना र बैंक–वित्त कम्पनीको आम्दानीमा गिरावट आएको प्रत्यक्ष असर सरकारको राजस्वमा देखिएको छ । उद्योगधन्दा तथा बैंकहरुको आम्दानीमा कमि आएकाले ठूला करदाता कार्यालयले लक्ष्य अनुरुप राजस्व उठाउन सकेको छैन । जबकी साना कार्यालयहरुले भने लक्ष्यकै हाराहारीमा राजस्व उठाएका छन् ।

स्रोतका अनुसार यो वर्षको पुस मसान्तसम्म ५६ अर्ब ४२ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, जम्मा ४१ अर्ब अर्थात् लक्ष्यको तुलनामा १५ अर्ब कम राजस्व उठेको छ ।

ठूला उद्योगहरु अहिलेसम्म पनि पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण उनिहरुको आम्दानीमा कमि आएको छ । आम्दानीमा कमि आएसँगै त्यसको प्रत्यक्ष असर सरकारले पाउने आयकरमा परेको छ ।

नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार कोरोना महामारी अघि जसरी व्यवसाय न सञ्चालनमा आउन सकेको छ नत मजदुरहरुले रोजगारी नै पाउन सकेका छन् । अझै ४६ प्रतिशत उद्योगहरु पूर्ण सञ्चालनमा आउन सकेका छैनन् ।

गत असारको तुलनामा अहिले उद्योग व्यसायको तलब तथा ज्यालामा हुने खर्चमा भने वृद्धि भएको छ । गत असारमा ६३ दशलमव चार प्रतिशत रहेको यस्तो खर्च अहिले ७० दशमलव ४ प्रतिशत पुगेको छ । यसले उद्योग व्यवसायले कर्मचारीलाई ज्याला तथा तलब भुक्तान गर्ने क्रम बढेको देखाउँछ ।

यसरी खर्च बढेपछि उनिहरुको आम्दानीमा कमि आएको छ । आम्दानीमा कमि आएसँगै यसले आयकर घटाउछ । आन्तरिक राजस्व विभागले पुस मसान्तसम्म ९३ अर्ब ६९ करोड ३१ लाख आयकर उठाउने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म जम्मा ८२ अर्ब ८९ करोड मात्रै उठेको छ । जबकी गत वर्ष यहि अवधिमा ९८ अर्ब ९२ करोड आयकर उठेको थियो ।

महामारीका कारण बन्द भएका होटलहरु खुलेपनि अहिलेसम्म राम्रोसँग कारोबार हुन सकेको छैन । होटलमा ग्राहक नजाँदा यसले मदिराको कारोबारमा कमि ल्याएको छ । मदिराबाट भने सरकारले यता अन्तः शुल्क उठाउँछ । जनताले मदिरा नखाएको त राम्रो, तर यसले यता राजस्वमा भने असर पारेको छ ।

आन्तरिक राजस्व विभागले गत पुस मसान्तसम्म अन्तः शुल्क ४४ अर्ब ५० करोड उठाउने लक्ष्य लिएको थियो । तर, अहिलेसम्म जम्मा ३७ अर्ब ७५ करोड मात्रै उठेको छ । जबकी गत वर्ष सरकारले यस्तो कर ३८ अर्ब ४० करोड उठाएको थियो । अन्तः शुल्क असुली लक्ष्यको तुलनामा मात्रै नभई गत वर्षको तुलनामा समेत कमि आएको देखिन्छ ।

तर, जबर्जस्ती रुपमा बढेको उपभोगको कारण सरकारले मूल्य अभिवृद्धि कर भने लक्ष्यभन्दा पनि बढि उठाएको छ । ५१ अर्ब मूल्यअभिवृद्धि कर उठाउने लक्ष्य लिएकामा पुस मसान्तसम्म ५४ अर्ब ७५ करोड उठिसकेको छ । जबकी गत वर्ष सरकारले मूल्य अभिवृद्धि कर ५४ अर्ब २१ करोड उठाउने लक्ष्य राखेकामा ५२ अर्ब ८९ करोड मात्रै उठाएको थियो ।

ब्याजकर पनि सरकारले लक्ष्य अनुरुप नै उठाएको देखिन्छ । ११ अर्ब ५३ करोड उठाउने लक्ष्य लिएकामा अहिलेसम्म ११ अर्ब ८५ करोड उठाएको छ । जबकी गत वर्षको यहि समयमा यस्तो कर १५ अर्ब ९९ करोड उठाउने लक्ष्य लिएकामा ११ अर्ब ३४ करोड मात्रै उठाएको थियो ।

सरकारले यो वर्ष ११ खर्ब १२ अर्ब राजस्व उठाउने लक्ष्य लिएको छ । जसमध्ये अहिलेसम्म ३८ दशमलव नौ पाँच प्रतिशत अर्थात ४ खर्ब ३३ अर्ब उठेको छ । जबकी सरकारले यो समयसम्म ४ खर्ब ७५ अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो ।

यो वर्ष कोरोना महामारी र यसले निम्ताएको आर्थिक क्रियाकलापका कारण राजस्व कम उठेको हो । अब राजस्व बढाउनका लागि सरकारले निजी क्षेत्रको विश्वास बढाउन जरुरी छ ।

प्रतिक्रिया