बिहीबार, वैशाख ६, २०८१

विभागीय टोलीलाई पराजित गर्दै वाग्मतीको विजयी सुरुवात

नेपालखोज २०७७ माघ ४ गते १४:५८

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार भएको खेलमा विभागीय टोलीलाई ७ विकेटले हराउँदै वाग्मती प्रदेशले सहज जित निकाल्न सफल भएको हो ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले जितका लागि दिएको ११२ रनको लक्ष्य वाग्मती प्रदेशले ३४ ओभर ४ बलमा ३ विकेट गुमाउँदै ११४ रन बनाउन सफल भएको हो ।

वाग्मतीका लागि पृथु बास्कोटाले सर्वाधिक ४८ रनको योगदान गरे । ६६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै पारस खड्काले १७ रन बनाउदा इशान पाण्डेले १७ रनको योगदान गरे ।

बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित नारायण राजवंशीले समान एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ३० ओभर ३ बलमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले २१-२१ रन साझेदारी बनाए । त्यस्तै सुनील धमला र सुशल भुर्तेलले १७-१७ रनको योगदान गरे ।

बलिङतर्फ वाग्मती प्रदेशका लागि नन्दन यादवले सर्वाधिक चार विकेट लिए । त्यस्तै तिलक भण्डारीले पनि चार विकेट लिँदा रामनरेश गिरीले दुई विकेट लिए ।

प्रतिक्रिया