प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक, ओली समूहको स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (मंगलबार) दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।
भोलि (बुधबार)बाट शुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि नेकपा प्रचण्ड–नेपाल समूहले दिउँसो होटल एसियाटिकमा बैठक बोलाएको हो ।
यता नेकपा ओली समूहको भने बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठकमा बहुमत सदस्यको उपस्थिति नहुने भएपछि बैठक स्थगित भएको हो ।
समय अभावका कारण मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको नेकपा प्रमुख सचेतक तथा ओली समूहका नेता बुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
उनले आफू उदयपुरमा रहेको बताउँदै समयमा नपुग्ने भएपछि बैठक स्थगित गरिएको जानकारी दिए ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रस्ताव दर्ता गराएकामध्ये पाँचजना प्रदेशसभा सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
यसैगरी बुधबार दिउँसो २ बजेबाट शुरु हुने अधिवेशनको तयारीका लागि नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।
मंगलबार ११ बजे प्रदेशसभा सचिवालय भवनमा संसदीय दलको बैठक बोलाइएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।
प्रतिक्रिया