प्रतिबन्धको दुई वर्षपछि सार्वजनिक हुँदै विप्लव
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ २ वर्षपछि शुक्रबार सार्वजनिक हुने भएका छन् ।
बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि चन्द नेतृत्वको नेकपा हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो ।
शुक्रबार दिउँसो २ बजे सभागृहमा आयोजित विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।
सरकारसँगको सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरु रहेका छन् ।
साथै सहमतिको विस्तृत विवरण शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।
त्यसो त विप्लवमाथिको प्रतिबन्धको २ वर्षमा नेकपा विप्लव समूहका २ हजार ८९ जना नेता/कार्यकर्ता पक्राउ परेकामा अधिकांश रिहा भए पनि व्यक्ति हत्या, विस्फोट, आगजनीलगायत गम्भीर किसिमका कसुरमा संलग्न भएको आरोपमा १ सय ३३ जना पुर्पक्षका क्रममा विभिन्न कारागार र ३ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
विप्लव समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहितका नेता/कार्यकर्ता कारागारमा छन् भने अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलासहित ३ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । चन्द समूहबाट एक शिक्षकसहित ४ र राज्य पक्षबाट चन्द समूहका ४ कार्यकर्ता मारिएका छन् ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, हट्यो विप्लवमाथिको प्रतिबन्ध
शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने
प्रतिक्रिया