एकैदिन भक्तपुरबाट २४ जुवाडे पक्राउ

नेपालखोज २०७७ माघ ६ गते १३:०८

भक्तपुर । तास खेलिरहेको अवस्थामा भक्तपुरबाट २४ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका ६ सुरन्दरबस्ती बस्ने सुमन तामाङको घरबाट तास खेलिरहेको अवस्थामा सुमन लगायत १५ जनालाई सोमबार साँझ पक्राउ गरेको हो । उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद एक लाख ८९ हजार नौ सय ५० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरिएको परिसरले जानकारी दिएको छ ।

परिसरका अनुसार सोही दिन भक्तपुर नगरपालिका १ दुधपाटीस्थित बिएम रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट संचालक सोही ठाउँ बस्ने ४१ वर्षीय बद्री कोजु लगायत ९ जनालाई पनि पक्राउ गरिएको छ । उक्त रेष्टुरेन्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार चार सय २० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी परिसरले दिएको छ ।

प्रतिक्रिया