शुक्रबार, चैत १६, २०८०

‘दमलाई पूर्णरुपमा निको भने बनाउन सकिँदैन’

नेपालखोज २०७७ माघ ७ गते ७:३०

काठमाडौं । हिँड्दा, विभिन्न काम गर्दा वा बस्दाबस्दै पनि स्याँ–स्याँ हुने समस्यालाई दम भनिन्छ । दमका कारण स्वाश्प्रश्वासमा असहज स्थिती पैदा हुने गर्छ । छातीको सम्पूर्ण समस्यालाई समष्टिगत रुपमा दम भन्ने गरिन्छ ।

दम विभिन्न प्रकारको हुने गर्छ । जस्तै सिओपिडी दम उमेर ढल्केका मानिसहरुमा हुने दमको एक प्रकार हो । उमेर ढल्कदै गएपछि बढी मात्रामा धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिहरुमा यस्तो प्रकारको दमको समस्या देखा पर्ने गर्छ ।

त्यसैगरी आस्थमा तथा एलर्जीका कारण हुुने दमको समस्या कम उमेरका व्यक्तिहरुमा देखा पर्ने गर्छ । कम उमेरका मानिसहरुमा यस्ता समस्या देखा पर्ने भएता पनि उमेर ढल्केका व्यक्तिमा यस्तो समस्या देखा नै नपर्ने चाहिँ होइन ।

छातीसम्बन्धी अन्य समस्याहरु जस्तै इन्डिस्ट्रिसिन लङ डिजिजका कारण पनि स्याँ–स्याँ बढ्ने भएकाले यसलाई पनि दमको एक प्रकारका रुपमा लिने गरिएको छ । छातीमा विभिन्न प्रकारको संक्रमणका कारण पनि यस्तो समस्या देखा पर्ने गर्छ ।

सामान्य भाषामा स्याँ–स्याँ गराउने रोगलाई दमका रुपमा लिन सकिन्छ । यद्यपी, दमका कारणहरु भने विभिन्न हुन सक्छन् । निश्चित उमेर समूहका मानिसहरुमा निश्चित प्रकारको दम देखा पर्ने गरेको पाइएको छ । उदाहरणका लागि सिओपिडी दम ६० वर्ष उमेर पूरा भएका मानिसहरुमा देखा पर्ने गर्छ ।

दम भएको कसरी थाहा पाउने ?
दैनिक रुपमा गर्दै आएको काममा असहज महसुस भएमा दम भएको शंका गर्न सकिन्छ । हिँड्दा तथा उकालो चढ्दा स्याँ–स्याँ भएमा पनि दम भएको शंका गर्न सकिन्छ ।

सिओपिडी दममा मुख्यतया दुईवटा समस्या देखिन्छन्– श्वासप्रश्वासमा समस्या हुने, स्वाँ–स्वाँ हुने । सुरुवातको चरणमा गाह्रो काम गर्दा वा भारी बोक्दा, उकालो चढ्दा स्वाँ–स्वाँ हुने हुन्छ भने विस्तारै रोग गएपछि सामान्य कार्य गर्दा पनि स्वाँ–स्वाँ हुने हुन्छ । यसका अलावा खोकी लाग्नु पनि यसको प्रमुख लक्षण हो । खोकी लाग्दा सेतो वा पहेँलो खकार आउने हुन्छ । त्यसैगरी अन्य लक्षणमा छाती ध्वार–ध्वार गराउने, औँला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटक–पटक छातीको संक्रमण भएर निरन्तर स्वास्थ्य संस्थामा गइराख्नुपर्ने हुन्छ ।

सामान्य व्यक्तिमा भन्दा दम रोगी भएका व्यक्तिहरुमा जाडो मौसममा भाइरसजन्य समस्याहरु बढी मात्रामा देखा पर्न सक्ने बताउँछन्, छातीरोग विशेषज्ञ डा. अशेष ढुंगाना । चिसो मौसममा हावामा प्रदूषणको मात्रा बढ्ने हुँदा दमका रोगी र रोगीको हेरचाहमा खटिने मानिसले विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

उपचार विधि
दमका रोगीहरुलाई दिइने औषधि इनेलर हो । यसमा पनि पाउडरबाट दिने इनेलर, मिटर डोज इनेलरलगायत विभिन्न प्रकारका हुन्छन् । सिओपिडी, ब्रोन्किटेस्टी दमलाई भने तान्ने औषधि इनेलरका रुपमा प्रयोग गर्नुपर्ने हुन्छ । यो सबैभन्दा कम असर गर्ने औषधि हो ।

केही प्रकारका दममा इनेलर औषधिको प्रयोग प्रभावकारी मानिँदैन । श्वासनलीमा रोकावट धेरै नहुने खालका दमका प्रकारमा यस्तो विधिको प्रयोग त्यति प्रभावकारी मानिँदैन । यस्ता प्रकारका दमका रोगीहरुलाई विभिन्न प्रकारका ट्याब्लेट औषधिमार्फत् उपचार गर्ने गरिन्छ । उपचारपश्चात् पनि दमलाई पूर्णरुपमा निको भने बनाउन सकिँदैन ।

कसरी बच्ने ?
– धुम्रपान तथा मद्यपान नगर्ने ।
– वायूप्रदुषण बच्न धुँवा धुलोमा जाँदा माक्सकको प्रयोग गर्ने ।
– गाउँघरमा धुवाँरहित चुलोको प्रयोगलाई बढावा दिने ।
– विभिन्न प्रकारका रसायनमा काम गर्नुपर्ने मानिसहरुले सावधानीका उपायहरु अपनाउने ।

प्रतिक्रिया