बिहीबार, चैत १५, २०८०

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारण सभा सम्पन्न

नेपालखोज २०७७ माघ ८ गते १६:५५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल) को ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले आज बिहिबार केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारण सभा भर्चुअलरुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । साधारण सभामा आर्थिक वर्ष २०७६÷७७ मा बैंकका प्रमुख उपलब्धीहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको थियो ।

साधारण सभाको अध्यक्षता गरिरहेका बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समितिको बैठकले १८ दशमलव पाँच प्रतिशत कुल लाभांश वितरण गरिने जानकारी दिए । जसमध्ये १३ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको पाँच दशमलव पाँच प्रतिशत नगद लाभांश प्रदान गरिनेछ ।

बैकले गत आर्थिक बर्षमा तीन अर्ब ५१ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा बैंकको खुद नाफा दुई अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल एक खर्ब ५२ अर्बबाट वृद्धि भइ एक खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।

यसैगरी कुल लगानी अघिल्लो वर्षको एक खर्ब २७ अर्बबाट वृद्धि भइ एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्‍याउँदै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यस बाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिक्रिया