शनिबार, वैशाख १५, २०८१

प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन : उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त

सभालाई अध्यक्षद्वय प्रचण्ड, नेपाल र घनश्याम भुसालले सम्बोधन गर्ने

नेपालखोज २०७७ माघ ९ गते १२:०३

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले काठमाडौंको नौ स्थानबाट निकालेको र्‍यालीका कारण उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रो पटक आज काठमाडौं केन्द्रित वृहत्त जुलुस र विरोध–सभाको आयोजना गरेको हो । जसका कारण गन्तव्य तिर हिँडेका यात्रुहरुले सास्ती पाएका छन् । गाडी नचल्दा यात्रुहरु हिँडेर गन्तव्यमा पुग्न बाध्य भएका छन् ।

यसबाट खासगरी विद्यार्थी, कामकाजीको बिचल्ली भएको छ । यसअघि गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शन गर्दा राजधानीका सडकमा यात्रुहरूको बिचल्ली भएको थियो ।

प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, बाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकालिएको छ ।

यता प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।

ती स्थानहरूबाट शुरू भएको जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, सहिदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने छ ।

भृकुटीमण्डमा निर्माण गरिएको मञ्च ‘टी’ आकारको हुने छ । मञ्च व्यवस्थापनको जिम्मा पाएका युवा संघ संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले विरोधसभा ‘टी’ आकारमा हुने जानकारी दिए ।

सापकोटाका अनुसार पुरानो बसपार्क–भद्रकाली सडक र प्रदर्शनीमार्गमा फैलिने गरी विरोधसभा हुन्छ । त्यसका लागि सैनिकमञ्च टुँडीखेलको पर्खालसँगै जोडेर मञ्च निर्माण गरिएको छ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र घनश्याम भुसालले सम्बोधन गर्ने बताइएको छ।

शुक्रबारको प्रदर्शनमा वागमती प्रदेशका विभिन्न जिल्लाबाट करिब एक लाख मानिस काठमाडौं उतार्ने तयारी गरेको गरिएको छ ।

यो पनि

काठमाडौंमा आज प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, नौ स्थानबाट वृहत्त जुलुस निकाल्ने तयारी

प्रतिक्रिया