शुक्रबार, वैशाख १४, २०८१

प्रतिनिधि सभा विघटनबारे सूचना बल्ल राजपत्रमा प्रकाशित

नेपालखोज २०७७ माघ ९ गते १४:३६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना नेपाल राजपत्रमा बल्ल प्रकाशित भएको छ । पुस ५ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना सार्वजनिक भएको थियो ।

तर, प्रतिनिधि सभा विघटन भएको निर्णयको सूचना भने राजपत्रमा प्रकाशित भएको थिएन । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइमा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा किन प्रकाशित नभएको भन्दै प्रश्न गरेका थिए ।

लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधि सभा विघटनबारे नेपाल राजपत्रमा प्रकाशित सूचना इजलासमा बुझाउन महान्यायाधीवक्ता कार्यालयलाई भनेका थिए । महान्यायाधीवक्ता कार्यालयले प्रतिनिधि सभा विघटन भएको एक महिनापछि बल्ल सूचना प्रकाशित गरेर संवैधानिक इजलासलाई बुझाएको हो ।

जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसअघि प्रकाशित नभएको सूचना रातारात पुस ५ कै मिति राखेर राजपत्रमा प्रकाशित गरिएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको हो ।

प्रतिक्रिया