मंगलबार, वैशाख ४, २०८१

नयाँ प्रजातिको भाइरस पुरानो भन्दा ७० प्रतिशत बढी खतरानाक

नेपालखोज २०७७ माघ १० गते १४:३२


बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको नयाँ प्रजातिको सङ्क्रमण पहिलेको भन्दा धेरै खतरनाक भएको बताएका छन् ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको बेला प्रधानमन्त्री जोनसनले यो कुरा बताएका हुन् ।


नयाँ भाइरस पहिलेको भन्दा धेरै नै खतरानाक छ त्यसैले सबै नागरिकले पहिलेको भन्दा पनि अझ बढी सुरक्षा मापदण्डहरु अपनाउनुपर्ने हुन्छ भन्ने बोरिसको अभिमत छ ।

हिजो डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका हुन् । उनले यो भाइरस पहिलो पटक गत महिना मात्र इंगल्याण्डको केन्टमा देखिएको बताए ।

सो पत्रकार सम्मेलनमा उनले नयाँ प्रजातिको भाइरस पुरानो भन्दा कम्तीमा पनि ७० प्रतिशत बढी मात्रामा संक्रमण फैलिने खालको रहेको जिकीर गर्दै सचेत रहन आग्रह गरे

पछिल्लो समयमा निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको समाचारमा जनाइएको थियो ।

बेलायतका स्वास्थ्य अधिकारीहरुले गएको बुधबार मात्र यहाँ त्यति धेरै नागरिकको ज्यान कोरोना भाइरसको सङक्रमणबाट भएको जानकारी दिएका थिए ।

बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा नयाँ कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि धेरै जनाको ज्यान जान थालेको बताउने गरेका छन् ।

बेलायतबाट शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत हप्तामा विश्वका १० वटा देशमा पुगेको हो । महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेकोले सचेत रहन संगठनले आग्रह गरेको छ ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अधिकारीले पनि यो संक्रमण पुरानो भन्दा खतरनाक भएको प्रमाण मिलेको बताएका छन् ।

कोरोना भाइरसको पहिलेको संक्रमणमा १ हजार जना सङ्क्रमितमा १० जनाको ज्यान गएको पाइएको थियो भने यो नयाँ प्रजातिको संक्रमणमा भने एक हजार जना सङ्क्रमितहरुमा १३ वा १४ जनाको निधन भएको पाइएको छ ।

पछिल्लो समयमा यो संक्रमण युरोपको कैयौँ सहरमा पुगिसकेका पाइएको छ । यसका कारण ती देशमा थप सतर्कता अपनाउने गरिएको छ ।

बेलायतमा ३८ हजार नागरिक सङ्क्रमित भएर अस्पतालमा रहेका छन् ।
नयाँ प्रजातिको भाइरस बेलायतमा प्रवेश गरेपछि यसले पहिलेको भन्दा पनि धेरै मानिसलाई संक्रमित बनाएको छ ।

प्रतिक्रिया