बिहीबार, वैशाख १३, २०८१

राष्ट्रिय महिला लिग फुटबलमा आर्मीको फराकिलो जित

नेपालखोज २०७७ माघ ११ गते १६:३२

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । आइतबार भएको खेलमा विभागीय टिम आर्मीले वालिङ नगरपालिकालाई ७–० ले हराएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आर्मीलाई जित दिलाउन विमला चौधरीले ह्याट्रिक गरिन् । त्यस्तै, दीपा राई, शर्मिला थापा, भुजुंगा राई र हेमा चौधरीले एकरएक गोल गरे ।

१४औँ मिनेटमा विमलाको गोलमार्फत आर्मीले अग्रता बनाएको थियो । खेलको २८औँ मिनेटमा दीपाको गोलबाट आर्मीले अग्रता दोब्बर बनायो । ४४औँ मिनेटमा शर्मिलाले गोल गर्दा आर्मीले पहिलो हाफमा ३–० गोलको अग्रता बनायो ।

खेलको ६६ औं मिनेटमा विमलाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को अग्रता दिलाइन् । विमलाले ७५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । ८९औँ मिनेटमा हेमाले गोल गर्दा आर्मी ६–० ले अग्रता लिएको थियो । खेलको इन्जुरी समयमा भुजुंगाले गोल गर्दै आर्मीलाई ७–० को जित दिलाइन् ।

जितसँगै आर्मीले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो ।

प्रतिक्रिया