शुक्रबार, चैत १६, २०८०

लुम्बिनीसँग बराबरी खेलेको बागमती पीएम कपको सेमिफाइनलमा

नेपालखोज २०७७ माघ ११ गते १७:२९

काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज (आइतबार) सम्पन्न खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमा २२१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १२ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर २२० रन बनाएपछि खेल बराबरी भएको हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरा ओभर खेल्दै नौ विकेटको क्षतिमा २२० रन बनाएको थियो । बागमतीका लागि आदिल खानले सर्वाधिक ५५ रनको अर्धशतकीय इनिङ खेले भने इशान पाण्डेले ५१ रन जोडे ।

त्यस्तै, पृथु बास्कोटा २९ रनमा आउट भए भने आकाश थापाले ३९ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि दिपेन्द्र रावतले तीन विकेट गिराए भने कृष्ण कार्की र सन्दिप सुनरले समान २–२ विकेट लिए ।

विक्रम भुषाल र अनिल खरेलले समान १–१ विकेट गिराए । जवाफी ब्याटिङमा आएको लुम्बिनीका प्रकाश केसी र कृष्ण कार्कीले समान ४१ रन बनाए । त्यस्तै, सन्दिप सुनारले २५, देव खनालले २६ र सन्दिप रजालीले ११ रन जोडे ।

बलिङतर्फ बागमतीका विपिन आचार्यले चार विकेट लिए भने गौतम केशीले दुई विकेट लिए । रामनरेश गिरी र तिलक भण्डारी एक विकेट लिनेमा रामनरेश गिरी र तिलक भण्डारी रहे ।

आजको खेलमा बराबरी भएसँगै समूह विजेता बन्दै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । अंकतालिकामा शीर्षस्थानमा रहेको बागमती सेमिफाइनलमा पुगेको हो ।

तर, लुम्बिनीको सेमिफाइनल यात्रा भने अर्को टोली नेपाल पुलिस क्लबको प्रदर्शनमा भर पर्नेछ । भोलि पुलिसले प्रदेश २ सँग खेल्दैछ। उक्त खेलमा पुलिसले जित निकालेको खण्डमा ऊ सेमिफाइनलमा जानेछ । प्रहरीले हार बेहोरेको खण्डमा लुम्बिनी समूह बी को उपविजेता हुँदै सेमिफाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया