ट्रम्पविरूद्धको महाअभियोगको प्रस्ताव सिनेटमा

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पुगेको छ । तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पारित भइसकेको उक्त प्रस्ताव सोमबार माथिल्लो सदनमा पठाइएको हो ।
जनवरी ६ मा संसद भवनमा हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग ल्याइएको हो । सिनेटमा महाअभियोगको प्रस्तावमा फेब्रुअरी ९ देखि छलफल हुने अपेक्षा गरिएको छ ।
यसअघि दुई पार्टीहरूले सिनेटमा ट्रम्पविरूद्धको महाअभियोगमा दुई सातापछिमात्र छलफल गर्ने सहमति भएको थियो ।
राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरूमा उनले गरेका महत्वपूर्ण नियुक्ति र कोरोना राहत प्याकेजलाई प्राथमिकता दिए ट्रम्पलाई पनि आफ्नाविरूद्धको प्रस्तावमा तयारी गर्न समय उपलब्ध हुने भएकाले दुबै पार्टी सम्झौतामा पुगेका हुन् ।
बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ । उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन् । उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्छ ।
अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव आउने ट्रम्प पहिलो राष्ट्रपति हुन् ।
प्रतिक्रिया