अमृत सिंह हत्या प्रकरण : वडाध्यक्ष अयडीसहित चार जना पक्राउ
बझाङ । जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–२ का अमृत सिंहको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ । मंगलबार राति सिंहको खुँडा प्रहार गरी हत्या गरिएको थियो ।
नेपाल तरुण दल, छबिस पाथीभेरा गाउँपालिकाका सदस्य समेत रहेका सिंहको हत्या आरोपमा छबिस पाथीभेरा–२ का वडाध्यक्ष विकास अयडी, सोही ठाउँका प्रकास अयडी, केदार अयडी र ज्ञानबहादुर कठायतलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्याका क्रममा वडाध्यक्ष अयडी चढ्ने से१प ७६१ नम्बरको सरकारी मोटरसाइकल प्रयोग भएको प्रहरीले बताएको छ । प्रहरीले मंगलबार राति सदरमुकाम चैनपुरको एक होटलबाट उनलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । कठायतलाई स्थानीयले मंगलबार नै घटनास्थलबाट नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
अर्का दुई आरोपी प्रकाश र केदारलाई थलारा गाउँपालिका–३, को जाम्बाँझ गाउँबाट बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । साथै यसबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।
यसैबीच हत्यारालाई कारबाहीको माग गर्दै सदरमुकाम चैनपुरमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले नाराजुलुस गर्दै सदरमुकामभित्र चल्ने यातायातसमेत बन्द गराएका छन् ।
प्रतिक्रिया