बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्युआरकोड लागु

काठमाडौं । बल्खु तरकारी बजारबाट एनएमबि बैंकले आजदेखि क्विक रेस्पोन्स क्यूआर कोडबाट भुक्तानी सेवा लागु गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायत स्थानीय निकायका पदाधिकारीहरु, सुरक्षा निकाय, कुमारी क्लबका सदस्यहरु, स्थानीय कृषि ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसै सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत केसीले बुढाथोकी भेजिटेवल सप्लायर्स र सजनी भेजिटेवल सप्लायर्सद्वयलाई सहुलियतपूर्ण कर्जाको प्रस्ताव पत्र पनि प्रदान गरे ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत् साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्गतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।
‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइसन तर्फ केन्द्रित रही नगद सहितबाट नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नुको साथै कृषि तथा सहुलियतपूर्ण कर्जा सहजताका लागि थप कार्यक्रम गर्नेमा प्रतिबद्ध छौं ।’ बैंकका कार्यकारी अधिकृत केसीले जानकारी दिए ।
त्यहाँ बोल्ने क्रममा गभर्नर महाप्रसाद अधिकारीले क्विक रेस्पोन्स क्यूआरकोड मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा सञ्चालन गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया