त्रुटि सच्याउन आन्दोलनको विकल्प रहेन : नेता शर्मा

नेपालखोज २०७७ माघ १६ गते २०:४५

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीको त्रुटि सच्याउनका लागि आन्दोलनको विकल्प नभएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको बनेपामा आज राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलामा उनले पार्टी एकता गर्ने बेलामा देखेका सपना पूरा गर्नुको साटो तुसारापात गर्न खोजिएकाले दवावस्वरुप आफूहरु आन्दोलनमा होमिएको प्रष्ट्याएका छन् ।

प्रधानमन्त्रीले पार्टीले देखेका सपना भुल्दै गएको र राज्य संयन्त्रका सबै शक्ति आफ्नो हातमा लिएर एकलौटी ढङ्गले अगाडि बढेको कारण अहिलेको अवस्था सिर्जना भएको उनको तर्क थियो । नेता शर्माले गलत निर्णयलाई आफुहरुले रोक्दै जाने क्रममा संसद् विघटन गर्नेसम्म अवस्थामा पुगेको कारण संसद् पुनःस्थापना र लोकतन्त्र रक्षार्थ आन्दोलन थालिएको बताए ।

उनले भने, “प्राप्त उपलब्धीहरु सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणालीमाथि प्रहार भएको छ, यी जनताका अधिकार हडप्ने अधिकार कसैलाई छैन ।” अहिलेको लोकतन्त्र कुनै सरकारी कार्यालयबाट प्राप्त भएको र कसैले दिएको बक्सिस नभएर नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त भएकाले यसको सुरक्षाका आम जनता एकताबद्ध हुनुपर्ने बताए ।

पार्टी केन्द्रीय सदस्य रचना खड्काले युवा र विद्यार्थीले गलत र सही छुट्याएर मुलुकलाई अगाडि बढाउने बाटोमा उभिन आवश्यक रहेको बताए। उनले नेकपाको अर्को पक्षले सबैलाई पद बाँडेर अपमान गरेको आरोप लगाउँँदै राजनीतिक एजेण्डामा केन्द्रित भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। अनेरास्ववियूका केन्द्रीय सह-संयोजक रञ्जित तामाङले प्रधानमन्त्रीले चालेको कदमलाई नसच्याएसम्म आन्दोलन जारिरहने बताए।

प्रतिक्रिया