पापकृत धनार्जन गर्नेहरुको अवस्था
पापको धन भन्नाले अन्याय र अत्याचारबाट आर्जन गरिने धनलाई बुझ्नुपर्छ । त्यस्तो अन्यायपूर्वक धनार्जन गर्नुलाई हाम्रा ऋषिमुनिहरुले निन्दा गरेका छन् । त्यस्तो अन्यायपूर्वक धन आर्जन गर्ने व्यक्ति वर्तमानमा थोरै सुखी र खुसी देखिएला तर कालान्तरमा मनमा अशान्ति र बैचैनी हुनाले उसको जीवन नरकमय बन्ने कुरा ऋषिमुनिहरुले बताएका छन् । पूर्वीय अर्थशास्त्रका पिता मानिने चाणक्यले अन्यायोपार्जितवित्तपूर्णमुदरं गर्वेण तुङ्गं शिरो भनेर अन्याय पूर्वक धन आर्जन गर्ने व्यक्तिहरुको निन्दा गरेका छन् ।
पूर्वीय दर्शनहरुले यस्तो धनकोे निन्दा गर्दा गर्दै पनि नेपालमा त्यसरी धन आर्जन गर्ने मानिसहरु दिनानुदिन बढ्दै गएका छन् । व्यवहारमा पनि जसरी धन कमाए पनि धनी मान्छेलाई इज्जत दिने गरिएको छ । बाहिर त्यसरी धनी भएकाहरुको जीवन जतिसुकै रवाफिलो देखिए पनि उसको पारिवारिक अवस्था र मानसिक अवस्था ज्यादै दयनीय रहेको हामी पाउँछौं । फोहोरी कर्मबाट धन आर्जन गर्नेहरुमा, परिवारिक कलह, सम्बन्धमा निरासा, सम्बन्ध बिच्छेद, बच्चाहरुमा अनुशासनको कमी र व्यभिचारहरुका कारण जीवनमा मानसिक तनाब बढ्दै गएको छ । सुकिलो कपडा र महङ्गा लक्जरियस सामग्रीले उसलाई आत्मिक शान्ति दिँदैन । त्यसैले अरुको मन दुखाएर, कमाउ धन्दामा सक्रिय धेरै मानिसहरुमा आत्महत्याको दर पनि बढेर गएको छ ।
जीवले कर्म अनुसारको फल भोग गर्दछ । यो शास्त्रीय मान्यता हो । सत्कर्मको सत् फल प्राप्त हुन्छ, दुष्कर्मको असत् फल । यो निरन्तर प्रक्रिया हो । असत् कर्म गर्नेहरुले हाल भौतिकरुपमा गुलिया रसगुल्लाहरु खाए पनि कालान्तरमा ती गुलिया रसगुल्लाहरु तीता हुने नै छन् । दुष्कर्मको पछिपछि भाग्दै पैसा कमाउँदा उसका परिवारका सदस्यहरुमा पनि अनुशासन, मर्यादा र विवेक मर्दै जान्छ । ऊ मर्यादाहरुलाई भुली रोबोटको रुपमा पैसा कमाउनमा व्यस्त रहन्छ । उसले सिकेका लुटका सूत्रहरु उसको बालबच्चाले पनि सिक्दै जाने हुन्छ । कालान्तरमा उसका बाल बच्चाले पनि आमा बुबालाई माया गर्नुपर्नेमा पैसालाई माया गर्न पुग्छ । धनप्रतिको यो व्याप्त मोहले मान्छे एक निर्जीव रोबट बन्न पुग्छ । ममता र प्रेमको परिभाषा त्यसको अभिलक्षण त उसले सिकेको नै हुँदैन । जब उमेर ढल्किँदै जान्छ तब ऊ बालबच्चालाई ममता र प्रेम सिकाउन खोज्छ तर बचपनमा सिक्नुपर्ने कुरा वयस्क बच्चाले सिक्न चाँहदैन । सन्तानको तिरस्कारले ऊ विक्षिप्त हुन्छ विक्षिप्त मात्रै होइन मनोविक्षिप्त हुन्छ । अनि सुरु हुन्छ रातमा निद्राका गोलीहरु या रक्सीका प्यालाहरु । यो विक्षिप्तताको कारक तत्व दुष्कर्मको धन हो भन्ने कुरा कसले बुझाइदिने ?
यस्तो दुष्कर्मको धनले व्यभिचारी बनाउने र त्यस्तो व्यभिचारहरु विभिन्न लक्षणका हुन्छन् भन्ने कुरा पनि हामीले भुल्न हुँदैन । पछिल्ला सभामुख र काजीसापको प्रकरणमा पनि कुकर्मको धन नै ती व्यभिचारको कारक तत्व थिए । नारीका विषयमा बोल्न अलिक होसियारी अपनाउन पर्ने भएको कारण ती दुबै प्रकरणका नारीहरुका बालबच्चाले तिनलाई हेर्ने नजर कस्तो रह्यो होला यति प्रश्न गरेर त्यो प्रसङ्गलाई नकोट्याउँ होला । तिनको हालको मानसिक अवस्थाको बारेमा चर्चा गरिराख्नु पर्दैन ।
अर्को प्रसङ्ग नेपालमा धनको लागि जनयुद्ध गरेका जननायक कमान्डर कहलिएका प्रचण्डको पारिवारिक अवस्था कस्तो छ, त्यो वर्णन गरिसाध्य छैन । पापबाट धन आर्जनमा उद्यत उनलाई छोराबाट बाँचुन्जेल शान्ति मिलेन । मृत्युपछि पनि छोराको यादले तिनी तड्पिएकै छन् । श्रीमतीको मर्नु र बाँच्नुको हरिबिजोग त छँदै छ । उनले कुकर्म पूर्वक कमाएको सम्पत्तिले उनलाई बारम्बार लखेटी रहेको छ । उनी जतिसुकै ठूला नेता किन नहून् घरभित्र छिरेपछि उनको मनोविक्षिप्तता कस्तो हुन्छ, त्यो यस्तो भोग्नेहरुलाई थाहा हुन्छ । यो माानसिक अशान्ति स्वयं भोक्ता र मिहिन बिचार गर्ने बिचारकहरुलाई मात्र थाहा हुने कुरा हो ।
लुटको धनले फुपुको श्राद्ध भन्ने नेपाली उखान पनि नभएको होइन । आवरणमा त्यो धनले धेरै मान्छेको जीवन चमकधमक देखिए पनि भित्रभित्र तिनीहरु निसासिएर पिल्सिएर रहेको यथार्थ हाम्रो नजिक छँदै छ । करोडौंको मोटरमा यात्रा गरे पनि पापबाट धन आर्जन गर्नेहरु साइकलमा यात्रा गरिरहेका मजदुरले प्राप्त गर्न सक्ने मीठो निद्राबाट बञ्चित छन् । महङ्गा होटलमा खाना खाए पनि तिनीहरुले परिवारका सदस्यहरु हाँसीखुसी नुनखुर्सानी र भात खाइरहेका तमाम गरिबहरुको जस्तो मीठो स्वाद तिनले पाएका छैनन् । मानौं स्वाद, निद्रा, भोक र चैन त सत्कर्म गर्ने मानिसको भाग्यमा पहिले नै लेखिएको छ । मानौं आनन्दानुभूति त विधाताले पहिले नै सत्कर्मवान्हरुका लागि पहिले नै बिचार गरेर बनाएका हुन् । मानौं लुट र अत्याचारमा व्यस्तहरुको भागमा विधाताले पहिले नै बेचैनी लेखिदिएका छन् । मानौं तिनीहरुलाई विधाताले एक सानदार लचकदार बिस्तरा यसकारण दिएका छन् जसका माध्यमले निद्रा र चैन हरण गर्न सकियोस् । मानौं तिनलाई धर्तीकै बदमास पुत्र यसकारण प्राप्त भएको छ जसका कारण जीवन नरक बन्न पुगोस् । मानौं विधाताले तिनलाई व्यभिचारको बुद्धि यसकारण पैदा गरिदिन्छन् जसको व्यभिचारको खबर सुनेर या बुझेर लोक सुसुचित बनोस् ।
जीवनभर पैसाको लागि अन्याय गर्ने तमाम मान्छेहरुको उत्तरार्धमा पीडा सुनिदिने पनि कोहि हुँदैन । अब उसले आफ्ना भावनाहरु कसलाई सुनाओस् ? आफन्तहरु ममता र प्रेम बोकेर आउन सक्ने सुनको पिँजडाको ढोका त उसले अघि नै बन्द गरि दिईसकेको हुन्छ । जसलाई आफ्ना पीडाहरु सुनाएर त्यो अन्यायी थोरै हलुका हुन सक्थ्यो उसैलाई उसले अन्याय गरेको हुन्छ भने पीडा पोख्ने कसलाई ? त्यसै सत्कर्मको बाटो हिँड भनेर शास्त्रले सिकाएको कहाँ हो र ?
प्रतिक्रिया