आइतबार, वैशाख २३, २०८१

चैत १७ देखि आहा रारा गोल्डकप

नेपालखोज २०७७ माघ १७ गते १३:०१

कास्की । मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १९औँ संस्करण आगामी चैत १७ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

आयोजक सहारा क्लबले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी अखिल नेपाल फुटबल संघ (एन्फा)बाट यो मितिमा प्रतियोगिता सञ्चालन गर्न समय तालिका प्राप्त भएकाले तयारी शुरु गरिएको जनाएको छ ।

‘खेलकूदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यसहित आयोजना हुने प्रतियोगितामा विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजक सहाराको टोली सहभागी हुने क्लबका अध्यक्ष केशबबहादुर थापाले बताए ।

कोरोना भाइरस महामारी र राष्ट्रिय फुटबल टोली विश्वकप फुटबल तथा एशियन कपको छनोट चरणको तयारीमा रहेकाले समेत प्रतियोगिताको समय पछि सरेको बताइन्छ । यसअघि क्लबले पुस÷माघमा प्रतियोगिता गर्दै आएको थियो ।

प्रतियोगिताबाट कुल आम्दानी एक करोड ३० लाख एक हजार तथा खर्च एक करोड एक लाख ८१ हजार रुपैयाँ हुने अनुमान गरिएको क्लबले जनाएको छ । गत वर्षको संस्करण मनाङ मर्स्याङ्दी क्लबले जितेकोमा विभागीय नेपाल पुलिस क्लब उपविजेता बनेको थियो । क्लबले आयोजना गर्ने प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजक बनेर यहाँको व्यावसायिक प्रतिष्ठान हिमश्री फुड्सको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगिताबाट बचत भएको रकम क्लबबाट पोखरा महानगरपालिका–१७ दोविल्लामा सञ्चालित सहारा फुटबल एकेडेमी सञ्चालनमा खर्च गरिँदै आइएको महासचिव रामजीप्रसाद अधिकारीले बताए । एकेडेमीमा हाल तेस्रो ब्याचका १४ जिल्लाका २४ बालक आवासीयरुपमा निःशुल्क, स्वास्थ्य शिक्षालगायत एकेडेमीमा फुटबल प्रशिक्षण गर्दै आएका छन् ।

प्रतिक्रिया