हरि चौहानको अर्धशतकमा एपीएफलाई मध्यम लक्ष्य
काठमाडौं । त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ । हरि चौहानको अर्धशकिय इनिङ्समा आर्मीले एपीएफ क्लबलाई मध्यम लक्ष्य दिएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको फाइनलमा आर्मीले निर्धारित पुरा ओभरको खेल खेल्दै ९ विकेट गुमाएर २११ रन बनायो ।
आर्मीका सुशन भारी र अनिल मण्डलले गरेको ओपनिङमा दुवैले दोहोरो अंकको रन बनाएर ९ ओभरसम्म खेलेका थिए । सुशनले १३ रन र अनिल ११ रनमा आउट भएका थिए ।
आर्मीका लागि सर्वाधिक रन बनाएका हरि चौहानले कम योगफलमा रहेको आर्मीको ब्याटिङ माथि उकासेका थिए । जसमा उनले १०२ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५८ रन बनाए । यस्तै, आर्मीका राजेश पुलामी मगरले २९ बलको सामना गर्दै २ चौका र १ छक्कासहित २८ रनमा आउट भए ।
आर्मीको आठौं विकेटका रुपमा मैदान प्रवेश गरेका लोकेश बमले आक्रामक ब्याटिङ गर्ने प्रयास गरेका थिए । तर, ९ लबमा १५ रन बनाएर खेलिरहेका उनलाई अभिनाष बोहराले किशोर महतोमार्फत क्याच गराए ।
यस्तै, रोहित पौडेलले ३० बलको सामना गर्दै ३० रन, ३६ बलको सामना गरेका भिम सार्कीले ७ रन, बिक्रम शोवले ११ रन बनाए भने साहब आलमले २१ रन प्रहार गरे ।
टस जितेर फिल्डिङ रोजेको एपीएफका लागि अभिनाष बोहराले उत्कृष्ट बलिङ गरे । उनले ९ ओेभर बलिङ गर्दै २ मेडन ओभरसहित २५ रन खर्चेर ४ विकेट लिएका छन् । यस्तै, एपीएफका भुवन कार्कीले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर १ विकेट लिए भने कमलसिंह ऐरीले १० ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ३४ रन खर्चेर १ विकेट लिए । किशोर महतोले १० ओभर बलिङ गर्दै ५३ रन खर्चेर २ विकेट, शरद भेषवकरले एक विकेट लिए ।
प्रधानमन्त्री कपको विजेता टोलीले १० लाख पाउनेछ भने उपविजेता टोलीले ५ लाख पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् भने उत्कृष्ट बलर–व्याट्सम्यानले समान २५ हजार पाउनेछन ।
प्रतिक्रिया