‘श्री ५ को सरकार’ भनेपछि खानेपानीमन्त्री थापाले मागे माफि

नेपालखोज २०७७ माघ १८ गते ११:३५

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् ।

शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ‘नेपाल सरकार’ भन्नुपर्नेमा खानेपानीमन्त्री थापाले ‘श्री ५ को सरकार’ भनेका थिए । थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका नेता हुन् ।

‘सबैलाई सम्मान गर्न चाहन्छु जो मञ्चमा आसीन हुनुहुन्छ । र सुर्खेतका आदरणीय जनसमुदायहरु म सबैलाई नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा ‘ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा तपाईंहरुलाई लाल सलाम भन्न चाहन्छु,’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भनेका थिए ।

मन्त्री थापाले श्री ५ को सरकार भनेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार बिहान मन्त्री थापाले स्पष्टीकरण दिँदै माफी मागेका छन् ।

‘शनिबार नेपाल कम्युनिस्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ ।’ मन्त्री थापाले स्पष्टीकरण दिँदै भनेका छन्–‘आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।मेरो पूरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

२०६२–०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभाले श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय गरेको थियो । पुनर्स्स्थापित संसद्को २०६३ जेठ ४ गतेको बैठकले नेपाल सरकार लेख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया