बुधबार, वैशाख १२, २०८१

उर्मिला श्रेष्ठ बनिन् ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’

नेपालखोज २०७७ माघ १८ गते १६:४२

काठमाडौं । ‘न्यूबिज विजनेश वुमन समिट एन्ड अवार्डस्’ बाट १२ जना महिला उद्यमीहरु सम्मानित भएका छन् । न्यू बिजनेश एज प्रालिले १२ महिला उद्यमीहरुलाई शुक्रबार अवार्डबाट विभुसित गरेको हो ।

मल्ल होटलकी अध्यक्ष महाराजकुमारी रमा राणा मल्ललाई ‘लाइफटाइम अचीवमेन्ट अवार्ड’ बाट न्यू बिजले सम्मान गरेको छ । उनलाई नेपालको व्यापार क्षेत्रमा ४ दशकसम्म योगदान पुर्‍याएवापत उक्त अवार्ड दिइएको हो ।

संस्थाले साल्ट ट्रेडिङ कर्पाेरेशनकी प्रमुख कार्यकारी अधिकृत(सीईओ) उर्मिला श्रेष्ठलाई ‘इन्फ्लुन्सियल बिजनेश वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सम्मानित गरेको छ । कंचनजंघा चिया इस्टेटकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालालाई ‘वुमन आन्टरप्रेनर अफ दि ईयर २०२१’ अवार्ड र होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणालाई ‘बिजनेस वुमन अफ द ईयर २०२१’ बाट सम्मानित गरेको छ ।

त्यस्तै, किरण शुज म्यानुफ्क्चरर्सकी ब्रान्डीङ तथा विजनेश डेभलपमेण्ट निर्देशक विदुषी राणा ‘क्यारिज्म्याटिक वुमन अफ द इयर २०२१’ अवार्डबाट सम्मानित भएकी छिन् ।

यस्तै न्यू बिजले प्रत्येक प्रदेशबाट १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पनि सम्मान गरेको छ । ‘इमर्जिङ इन्टरप्राइजीङ वुमन अफ दि ईयर २०२१’ अवार्डबाट सातै प्रदेश स्थित एक/एक जना उत्कृष्ट महिला उद्यमीलाई सम्मानित गर्ने क्रममा प्रदेश नम्बर १ बाट विराटनगरको चम्पा सु सेन्टरकी प्रोपाइटर चम्पा नेपाल, प्रदेश नम्बर २ बाट बिरगन्जस्थित मिथिला हाउस प्राइभेट लिमिटेडकी प्रोपाइटर तृष्णासिङ भण्डारी, बागमति प्रदेशबाट रिजाल प्लास्टीक उद्योग भक्तपुरकी प्रोपाइटर चन्द्रकला बास्कोटा, गण्डकी प्रदेशबाट वुमन्स स्कील डेभलपमेन्ट सेन्टर पोखराकी संस्थापक रामकली खड्का र लुम्बिनी प्रदेशबाट कोथी हिमाल अल्लो कपडा उद्योग प्युठानकी प्रोपाइटर चित्रकली बुढामगर, कर्णाली प्रदेशबाट भवानी छापाखाना सुर्खेतकी हिमा कुमारी उपाध्याय र सुदुर पश्चिम प्रदेशबाट बि पोलीटेनिक इन्स्युच्यूट धनगढीकी प्रबन्ध निर्देशक हिरा भण्डारी सम्मानित भएका छन् ।

न्यू बिजनेश एजले गत बर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको भएता पनि कोरोना महामारीका कारण त्यसबेला उक्त कार्यक्रम स्थगित भएको थियो । दुई भाग गरि सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरण गत वर्ष नै सम्पन्न भइसकेको र दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको न्यु बिजले जनाएको छ । पहिलो चरणको कार्यक्रम अन्तरगत देशका बिभिन्न भागका व्यवसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको थियो । विराटनगर, विर्तामोड, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ़, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजना भएको पनि जनाइएको छ ।

प्रतिक्रिया