त्रिभुवन विमानस्थल १८ घण्टा मात्रै चलाउने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन समय १८ घण्टामा झार्ने तयारी भएको छ । विमान र यात्रुको सङ्ख्या कम भए पनि अहिले २१ घण्टा सञ्चालनमा रहेको विमास्थल अब १८ घण्टा मात्रै सञ्चालनको तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।
यस विषयमा केही दिनभित्रै निर्णय हुने क्षेत्रीको भनाइ छ । कोरोना महामारीका कारण विमानस्थलको आम्दानी घटेको र २१ घण्टा सञ्चालन गर्दा खर्च धेरै बढ्ने भएकाले सञ्चालनको समय १८ घण्टामा झार्न लागिएको उनले बताए ।
अहिले बिहान ६ बजेदेखि अर्को दिन बिहान ३ बजेसम्म विमानस्थल सञ्चालन हुँदै आएको छ । अहिले नेपाल एअरलाइन्स, कतार एअरवेज, जजिरा एअर र एअर अरेबिया गरि चार वटा एअरलाइन्सले मात्रै १२ बजेपछि उडान गर्दै आएका छन् । तर यी एअरलाइन्सको नियमित उडान नभएकाले रातभरि विमानस्थल सञ्चालन गर्ने अवस्था नरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अहिले कतार र एअर अरेबियाले दैनिक रूपमा तथा नेपाल एअरलाइन्स तथा जजिरा एअरले हप्तामा तीन दिन राति १२ बजेपछि उडान गर्दै आएका छन् । नेपाल एअरलाइन्सले हप्तामा तीन दिन राति १ बजेपछि जापानको नारिता उडान गर्दै आएको छ । कतार र एअर अरेबियाको उडान भने राति सवा २ बजे हुँदै आएको छ ।
विमानस्थल जम्मा १८ घण्टा सञ्चालन गर्ने निर्णयको चार वटा एअरलाइन्सले विरोध गर्दै आएका छन् । आफूहरूको तालिका नमिल्ने र पटक–पटक परिवर्तन गर्न सम्भव नभएको भन्दै उनीहरूले १२ बजेपछि पनि उडान हुनुपर्ने माग गर्दै आएको उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया