धरासायी बन्दै पुष्प व्यवसाय

कोरोना संक्रमणका कारण थला परेको पुष्प व्यवसाय विस्तारै चलायमान हुन थालेको छ । संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै गत चैत्र ११ गते पहिलो पटक जारी गरिएको लकडाउन र त्यसपछि जारी गरिएका निषेधज्ञाका कारण सम्पूर्ण क्षेत्र ठप्प प्रायः थिए । देशमा सञ्चालित व्यापार व्यवसाय, उद्योग, कलकारखाना लगायत सम्पूर्ण क्षेत्र ठप्प भएपछि तिनमा आश्रित लाखौं नागरिक बेरोजगार भएका थिए । जसको यकिन तथ्यांक सरकारसँग समेत छैन । यद्यपि, कोरोना संक्रमण फैलिनु अघि जस्तो कारोबार नभए पनि हाल करिब ५० देखि ६० प्रतिशतको हाराहारीमा करोबार हुन थालेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष किरण कसजु श्रेष्ठले बताएका छन् । उनले भने, ‘कोभिडभन्दा अघिको जस्तो त छैन तर पनि विगतमा हुने व्यवसायको तुलनामा ५०÷६० प्रतिशत हामीले व्यापार गरिरहेका छौं । मैले भर्खंरै पनि देशभरीका सबै नर्सरी व्यवसायहरुसँग भेटघाट र छलफल गरेको थिए । सबै ठाउँमा व्यापार व्यवसायहरु पुनः लयमा फर्किने क्रममा नै मैले पाएँ ।’
नेपालमा पुष्प व्यवसायलाई आधारभूत आवश्यकताको रुपमा नभइ सजावट र बिलासी वस्तुका रुपमा पनि लिने गरिएको छ । त्यसैले अन्य व्यापार व्यवसाय राम्रो भइ मान्छेले आम्दानी गर्न थालेपछि मात्रै फूलको व्यापार हुने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा पौने तीन अर्बको कारोबार गरेका पुष्प व्यवसायीले कोरोना संक्रमण प्रभावका कारण आर्थिक वर्ष २०७६÷७७ मा जम्मा सवा २ अर्बको करोबार गरेका छन् ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले होटेल, रिसोर्टहरु अझ विशेष गरी पर्यटकीय क्षेत्र र विभिन्न मेला महोत्सव, प्रदर्शनी, विभिन्न इभेन्टस् अझै सञ्चालन हुन नसक्दा आउँदो आर्थिक वर्षमा कारोबार झन घटेर जाने अध्यक्ष कसजुको अनुमान छ । यी सबै कार्यक्रमहरु सक्रिय रुपमा सञ्चालन नहुँदासम्म पुष्प व्यवसाय पूर्णरुपमा चलायमान हुन नसक्ने उनको भनाइ छ ।
नेपालमा उत्पादन हुने फूलहरुले अझै पनि आन्तरिक माग धान्न सकेको अवस्था छैन । जसले गर्दा नेपालमा वार्षिक करोडौं मूल्य बराबरका फूल तेस्रो मुलुकबाट आयात भइरहेको छ । नेपालमा पुष्प व्यवसायको राम्रो सम्भावना भएपनि बेला–बेलामा हुने विभिन्न खालका प्राकृतिक विपत्ती र राजनीतिक अस्थिरताका कारण व्यवसायीलाई ढुक्कसँग लगानी गर्न सक्ने वातावरण नरहेको एशोसिएसनका अध्यक्ष कसजुले बताए । उनले भने, ‘नेपालमा समय–समयमा आइरहने यस्ता समस्याका कारण यही देशमा बसेर उद्यम गर्छु, यही देशका नागरिकलाई रोजगारी दिन्छु, यही देशलाई कर तिर्छु भनेर ढुक्कका साथ लगानी गर्न सक्ने र खुलारुपमा काम गर्न सक्ने वातावरण अहिले छैन । त्यसकारण पनि लगानी गर्ने मान्छेहरु लगानी गर्न हिचकिचाइ रहेका छन् ।’
कोभिड संक्रमण फैलिएको समयमा पनि नेपालमा पुष्प व्यवसायबाट करिब २० प्रतिशत व्यवसायी पलायन भएको र करिब ३० प्रतिशत नागरिकले रोजगारी गुमाएको उनले बताएका छन् । खराब परिस्थिति पछि राम्रो परिस्थिति आउँछ भन्ने आशावादी भएर नै आफूहरुले लगानी गरिरहेको उनले बताए । नेपालको हिमाली बाहेक अन्य सबै क्षेत्रमा पुष्प व्यवसाय गर्न उपयुक्त मानिएको छ । उनले भने, ‘हिमाली क्षेत्रमा अहिले सम्भावना अलि कम छ । किनभने हामीसँग ‘टेक्नोलोजी’ छैन । ‘टेक्नोलोजी’मा हामीले लगानी गर्न सकिरहेको अवस्था छैन । अर्को कुरा अनुसन्धानका कामहरु पनि हाम्रो जिरो छ । हामीले पुष्प व्यवसाय व्यवस्थित ढंगले गर्न थालेको आधा शताब्दी बतिसकेको छ । यो आधा शताब्दी बितिसक्दा पनि यस्ता अनुसन्धानका कामहरु त्यति अघि बढ्न सकिरहेका छैनन् । त्यसकारण अहिले हामीले हिमाली जिल्लामा काम गर्न सक्ने अवस्था छैन । तराई, पहाड र मध्य पहाडी क्षेत्रमा भने पुष्प व्यवसायको राम्रो सम्भावना छ ।’
नेपालका तराई, पहाड र मध्य पहाडी क्षेत्रको हरेक ५ कि.मी.को दूरीमा फरक–फरक खालको मौसम रहेको पाइन्छ । त्यसलाई उपयोग गर्दै ‘टेक्नोलोजी’ मा कम लगानी गरेर पनि पुष्प उत्पादन गरी आन्तरिक मागलाई पूर्ति गर्ने र अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्न सक्ने राम्रो सम्भावना रहेको छ । तर, त्यसका लागि लगानी गर्न सक्ने वातावरण, देशमा शान्ति, अमनचयन र व्यवसाय गर्न सरकारले उपयुक्त नीति निर्माण गर्न आवश्यक रहेको फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अध्यक्ष कीरण कसजु श्रेष्ठले बताए । उनले भने, ‘सरकार आफैँ कहिले फूल भनेको बिलासी वस्तु हो भन्छ । कहिले सार्वजनिक कार्यक्रममै मालाको प्रयोग नगर भनेर सरकारका प्रतिनिधि भन्ने गर्छन् । यस्ता अभिव्यक्तिले पुष्प व्यवसायमा आफ्नो भविष्य खोजिरहेको जुन वर्ग छ उनीहरुको मनोविज्ञानलाई ढुङ्गा हानेर तरङ्गीत बताउने काम भइरहेको छ ।’ सरकारले पुष्प व्यवसायीको प्रवद्र्धनका लागि भन्दै कार्यक्रमको घोषणा गरेको थियो । तर, त्यो कार्यक्रमले सरकारको लक्ष्य पूरा भएपनि पुष्प व्यवसायमा त्यसको प्रभाव भने शून्य रहेको उनको भनाइ छ ।
पुष्प व्यवसाय कृषि क्षेत्रको उदयमान क्षेत्र भएपनि सरकारले यसतर्फ ध्यान नदिएको उनको आरोप छ । राम्रो लगानी गर्न सक्ने वातावरण बनाउन सकेको खण्डमा नेपालमा उत्पादन भएको फूलले आन्तरिक खपतलाई धानेर अन्तर्राष्ट्रिय बजारमा पनि बिक्री गरी आय आर्जन गर्न सक्ने भएपनि बाह्य मुलुकबाट वैधानिक र अवैधानिक रुपमा करोडौंको फूल आयात भइरहेको छ । यस्तो खालको आयात रोक्न नेपालमा लगानी बढाउन र पुष्प उद्यमीहरुलाई क्षमता अभिवृद्धि गर्न विभिन्न चरणमा प्रोत्साहनका कार्यक्रम गर्न सके मात्रै यसमा काम गर्न सक्ने वातावरण बन्नेछ नत्र यो क्षेत्रबाट धेरै पलायन भएर जाने उनको भनाइ छ ।

प्रतिक्रिया