बर्डफ्लु नियन्त्रणका लागि ‘-यापिड रेस्पोन्स टीम’ तयारी अवस्थामा

नेपालखोज २०७७ माघ १९ गते १५:३५

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि ‘-यापिड रेस्पोन्स टीम’ तयार पारेको छ ।

मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बर्डफ्लु नियन्त्रणका लागि ‘-यापिड रेस्पोन्स टीम’तयार गरेर सतर्क रुपमा बसेको जानकारी दिए ।

सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए । कुनैपनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल -यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम अघि बढाइने उनले बताए ।

नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सहसचिव निर्मलले प्रष्ट पारे । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताए । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर्मलको भनाइ छ ।

तर, एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि बताए । मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको पनि बताए ।

प्रतिक्रिया