उत्तेजना तथा आक्रोश फैलाउने ओली र प्रचण्ड–नेपाल

काठमाडौं । ३ जेठ २०७५ तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तीन महिनाभित्र कार्यविभाजन गर्ने र २ वर्षमा पार्टीको महाधिवेशन गर्ने मौखिम समझदारी भएको थियो ।
सोहि दिन एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार आलोपालोमा चलाउने सहमति पनि भयो । ५ बुँदे सहमतिको बुँदा नम्बर ४ मा लेखिएको छ, ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।’
पार्टी एकीकरण भएको केही महिनादेखि विवादमै रुमलिएको नेकपा प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजन भयो । ५ पुस २०७७ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी एकीकरण गरेको सत्तारुढ दल नेकपा दुई समूहमा विभाजन हुन पुग्यो । पार्टी एकता हुँदा जुन समझदारी भएको थियो त्यो पार्टी विभाजनसँगै तिलाञ्जली दिइयो । तर, त्यसको औपचारिक घोषणा भने भएको छैन ।
३ जेठ २०७५ मा जुन उत्साहका साथ पार्टी एकीकरण भएको थियो त्यसको तिलाञ्जली दिँदै अहिले ओली र प्रचण्ड–नेपाल समूहका नेकपा सत्ता र शक्तिको युद्धमा होमिएका छन् ।
प्रतिनिधिसभा विघटनपछि दुई दलकै संरचना बनाएर एकअर्कालाई सत्तोसराप गरिरहेका नेकपाका नेताहरु तीन वर्षसम्म जसोतसो सत्ता र शक्तिको मिलिजुली दोहन गरेकै थिए । अहिले आफ्नो समूहलाई बलियो देखाउन गालीगलौज मात्रै होइन युद्धमै उत्रिन पनि पछि नपर्ने बताउँदै आएका छन् ।
तर, सत्ता र शक्तिका युद्धमा होमिएका ओली र प्रचण्ड–नेपाल समूहले दैनिक रुपमा हुने गरेको आन्दोलन र विरोधका कार्यक्रमले जनताले पाएको समस्या र दुःखकष्टका बारेमा कुनै शब्द उच्चारण गरेको पाइँदैन । बरु जनतालाई सास्ति दिएर, यातायात नै अवरुद्ध गरेर बीच सडकमा एकअर्का प्रति दोषारोपण गर्न व्यस्त छन् ।
मुलुकको बागडोर सम्हालिसकेका नेकपाका शीर्ष नेताहरुको आरोप प्रत्यरोप विधि सिद्धान्तमा भन्दा व्यक्तिमा केन्द्रित छ । सिनेमाका सी ग्रेडका डाइलग र व्यङ्ग्यकारका पंक्ति जस्तै ।
पटक–पटक सत्ता र शक्तिको दोहन गरिसकेका र फेरि सत्तामा पुग्न र टिक्न कसरत गरिरहेका उनीहरुका अभिव्यक्ति श्रीमान–श्रीमतीको झगडा र भनाभन भन्दा फरक छैनन् ।
केपी ओलीले महिलाको किड्नी लगाएर दिमाग नै बिग्रियो रे । महिलाको किड्नी लगाउँदा दिमाग बिग्रयो भने महिलाबाट जम्मिएको त्यो मान्छे पहिले नै के होला, एक कार्यक्रममा प्रधानमन्त्री ओलीले महिलाको त धेरै अपमान भयो भनेका थिए ।
त्यस्तै प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले केपी ओलीको निरंकुशता चुट्किको भरमा ध्वस्त हुने बताएका थिए । केही महिना भित्र केपी ओलीको यो स्वेच्छाचारिताको अन्त्य हुने पनि बताएका थिए ।
देश गम्भीर समस्यामा छ । नेतृत्वकै कारण लोकतन्त्र र संविधान धर्मराएको छ । तर, तीनै नेताहरुका भाषण समय कटाउने र मनोरञ्जन दिने चटकजस्तो सुनिन्छ ।
बीच सडकमा स्टेज बनाएर भाषण गर्दा शीर्ष नेताहरूका अभिव्यक्तिमा जनताले भोगेका समस्याको न त कुनै सहानुभूति छ, न त महामारीमा ज्यान गुमाउनेप्रति श्रद्धा र परिवारप्रति समवेदना नै । छ त केवल हिंसात्मक शब्द ।
प्रचण्ड–नेपाल समूहको होस् वा ओली नेतृत्वकै भाषण किन नहोस् उनीहरुको ओठबाट निस्कने शब्द उत्तेजना तथा आक्रोश फैलाउने र समाजलाई विभक्त बनाइराख्ने खालका हुन्छन् ।
त्यसो त अघिल्लाले पछिल्लोलाई, हिजोकाले आजकालाई, आजकाले भोलिकालाई र कमिटीभित्र भएकाले कमिटी प्रमुखलाई असफल बनाउन मात्रै लाग्ने हो भने नेकपा त के संसारको कुनै पनि पार्टी सही दिशामा चल्न सक्दैन ।
जगजाहेर छ, पार्टी आफ्नो विधानअनुसार चल्छ भने सरकार संविधान र कानुनद्वारा प्रदत्त अधिकार अनुसार चल्छ । पार्टीले व्यक्तिलाई टिकट दिन्छ, पार्टीले प्रधानमन्त्री पनि छान्छ, तर प्रधानमन्त्री छानिएपछि उसले पार्टी विधानअनुसार सरकार चलाउन सक्दैन अर्थात् मिल्दैन । उसले संविधान, ऐन, कानुन तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सरकार चलाउनुपर्छ । मूलतः शासकीय स्वरूप, राज्यको चरित्र र सरकारले अँगाल्ने विचारधाराले विश्वमा फरक–फरक अभ्यास भएको पाइन्छ ।

प्रतिक्रिया