आइतबार, जेठ ६, २०८१

जन्मदिनमा भादगाउले टोपीमा जेकी श्राफ

नेपालखोज २०७७ माघ २० गते ११:११

एजेन्सी । बलिउडका सुपरस्टार जेकी श्राफले सोमबार आफ्नो ६४ औं जन्मदिन मनाए । बलिउडका कैयौं कलाकार तथा स्टारले अझै पनि उनलाई सामाजिक सन्जालमा शुभकामना दिइरहेका छन् । उनकी श्रीमति आयशा श्राफले आफ्नो अफिसियल इन्स्टाग्राममा एक तस्बिर शेयर गर्दै शुभकामना दिएकी छन् ।

आयशाले राखेको जेकीको तस्बिरमा जेकी नेपालको झन्डा र खुकुरी अंकित भादगाउले टोपी लगाएर हाँसिरहेका छन् । उनले यो तस्बिर कहाँ खिचेका हुन् भन्ने केही खुलाइएको छैन । आयशाले क्याप्सनमा ‘विश्वकै सर्वश्रेष्ठ पिता र विश्वकै सबैभन्दा दिलदार व्यक्तिलाई जन्मदिनको शुभकामना’ लेखेकी छन् । आयशाको यो पोस्टमा उनलाई बलिउडका कलाकार तथा स्टारले शुभकामना दिइरहेका छन् ।

जेकीले बलिउडमा निकै लामो यात्रा तय गरेका छन् । उनले आफ्नो करियर मोडलिङबाट शुरु गरेका थिए । त्यसपछि उनले कैयौं फिल्ममा सानो सानो भूमिका निभाए । तर निर्देशक सुभाष घईको फिल्म ‘हीरो’ले उनलाई पहिचान दिलायो । त्यसपछि उनले ‘कर्मा’, ‘राम लखन’, ‘त्रिदेव’, ‘सौदागर’, ‘त्रिमूर्ति’ जस्ता हिट फिल्ममा प्रमुख भूमिकामा अभिनय गरे ।

प्रतिक्रिया