अनुगमनका लागि जेल पुगेका मन्त्रीले गरे विप्लवका नेतासँग गोप्य वार्ता
काठमाडौं । खानेपानीमन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन् । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला मन्त्री थापा मंगलबार बिहान नख्खु कारागार पुगेका थिए ।
कारागार स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । त्यसक्रममा उनले कारागारको निरीक्षण गरे । र, विप्लव नेता वलीसँग संवाद गरे ।
संसद विघटनको निर्णयपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन् । त्यसैको निरन्तरता स्वरुप ओलीले भूमिगत विप्लव समूहलाई मुलधारमा ल्याउन संवादको प्रयास जारी राखेका छन् ।
त्यही प्रयास स्वरुप मन्त्री थापाले सुदर्शनलाई भेटेका हुन् । समूहमाथि सरकारले २९ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो । वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त समूहले राखेको छ । त्यसपछि हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएका छन् ।
सरकारी अडान चाहिँ समूहले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया सुरु गर्ने भन्नेछ ।
काभ्रेबाट ९ चैत २०७५ मा पक्राउ पर्नुअघि वली पक्राउ भूमिगत विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए । उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेल प्रा.लि.को मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।
जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । र, वलीलाई नख्खु कारागार चलान गरिएको थियो ।
प्रतिक्रिया