राष्ट्रिय महिला लिगः वालिङ र चन्द्रपुर खेल्दै
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (मंगलबार) स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । ललितपुरको सातदोबाटोस्थित् एन्फा कम्प्लेक्सको मैदानमा खेल दिउँसो २ बजे सुरु हुनेछ ।
लिगको पाँचौ स्थानमा रहेको वालिङले छैटौं स्थानको चन्द्रपुरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । एक–एक खेलमा जित निकालेको चन्द्रपुर र वालिङ एक–अर्कालाई पराजित गर्दै स्पष्ट तीन अंक खोस्ने लक्ष्यमा छन् ।
विदेशी खेलाडीको आगमनले बलियो बनेको वालिङले खेलको पाँच खेलमध्ये एकमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेल्दै ५ अंक बनाएको छ । चन्द्रपुरले भने पाँच खेलमध्ये एक खेलमा जित र चार खेलमा हार ब्यहोरेको छ । चन्द्रपुरको तीन अंक छ ।
लिगको शीर्ष स्थानमा विभागीय टिम एपिएफ क्लब रहेको छ । एपिएफले ६ खेलबाट १८ अंक बनाएको छ । सोमबार मात्रै एपिएफले आफ्नो छैटौं खेलमा उदयपुरको चौदण्डीगढीलाई २२–० गोलअन्तरले पराजित गरेको थियो । फराकिलो जितमा सावित्राले १२ गोल गरेकी थिइन् ।
लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी फुटबल क्लब रहेको छ । आर्मीको पाँच खेलबाट १० अंक हुँदा तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबको पाँच खेलबाट आठ अंक छ । पाँच खेलबाट ७ अंक बनाउँदै लिगको चौंथो स्थानमा विराटनगर महानगरपालिका रहँदा पुछारमा भने उदयपुरको चौदण्डीगढी नगरपालिका रहेको छ ।
प्रतिक्रिया