डा. केसी फागुन १२ गतेदेखि फेरि अनसन बस्दै

काठमाडौं । प्रतिनिधि सभा विघटन र अहिलेका विकृतिविरुद्ध डा.गोविन्द केसी फागुन १२ गतेदेखि २० औँ आमरण अनसन बस्ने भएका छन् ।
झण्डै ८० वर्षसम्म नागरिकहरूले रगत–पसिना बगाएर ल्याएको लोकतान्त्रिक व्यवस्था जोखिममा रहेको संविधानको मर्म मारेर एक व्यक्ति सर्वेसर्वा हुने अधिनायकवादी व्यवस्थाका विरुद्धमा आफूले आमरण अनसन बस्न लागेको डा. केसीले बताए ।
एक दशकदेखि देशको स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका पक्षमा निरन्तर सङ्घर्षरत रहेकोमा केही माग पूरा भएको र केही बाँकी रहेको स्मरण गराउँदै डा. केसीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गो राज्य संयन्त्र नै कब्जामा लिएकाले त्यसको विरुद्धमा अनसन बस्न बाध्य भएको बताए ।
केपी शर्मा ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभइ सिङ्गो देशको स्वार्थ र सुरक्षासमेत खतरामा तथा अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर रहेको डा. केसीको दाबी छ । नागरिकले नैतिक बलमा टेकेर अहिंसात्मक सङ्घर्ष गरेमा लोकतान्त्रिक अधिकारहरू हरण गर्ने सबै प्रपञ्च असफल हुने डा. केसीको विश्वास छ ।

प्रतिक्रिया