अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन प्रचण्डलाई सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन आदेश दिएको छ ।
प्रचण्डविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
सोमबार प्रचण्डविरुद्ध अधिवक्ता समीर हायूले निवेदन दर्ता गरेका थिए । मंगलबार नै सुनुवाइ हुने भनिए पनि ‘हेर्न नभ्याइने’ भन्दै बुधबारका लागि पेसी सरिएको थियो ।
निवेदनमा प्रचण्डले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अवहेलना मुद्दा दर्ता भएको छ । उनीहरूलाई आफै उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश भइसकेको छ ।
प्रधानमन्त्री ओलीविरुद्ध भने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई तमासे भनेको र कानुन व्यवसायीले तमासा देखाएको भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको हो ।
प्रतिक्रिया