सोमबार, वैशाख २४, २०८१

‘मन्त्री झाँक्रीले आश्वासन दिइन्, तर भूमाफियालाई कारबाही गरिनन्’

नेपालखोज २०७८ माघ ६ गते १७:५३

काठमाडौं । अरनिको राजमार्गसँग जोडिएको भक्तपुरको रिखेटार क्षेत्रमा करिव १०० रोपनी सार्वजनिक जग्गा हडपिएको भन्दै नागरिक सरोकार समितिले संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ । भक्तपुर सुर्यविनायक नगरपालिका–९ स्थित उक्त जग्गा भूमाफियाले हडपेको भन्दै संरक्षण गर्न माग गरिएको हो ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले ग्रिन हाउजिङ प्रा.लि.ले सु.न.पा–९ का वडा अध्यक्ष उपेन्द्रराज केसीसँग गोप्य सम्झौता गरी सार्वजनिक जग्गा कब्जा गरेको खुलाएको हो । समितिले व्यक्तिहरुको नाममा रहेको ७३ रोपनी र नेपाल सरकारको नाममा रहेको ५३ रोपनी ५ आना जग्गा हाउजिङ कम्पनीले लिएको उल्लेख गरेको छ । वडा कार्यालयले गरेको गैरकानुनी सम्झौता र हाउजिङ प्रा.लि.ले नेपाल सरकारको सम्पत्ति र प्राकृतिक सम्पदा, खानेपानी, सिँचाई, चरिचरण र वनजंगलमाथि गरेको हस्तक्षेपको स्थानीय जनता र नागरिक सरोकार मुल समितिबाट विरोध हुँदै आएको छ ।

कार्यक्रममा समितिका सदस्य पशुपति खत्रीले हाउजिङ कम्पनीले वडा कार्यालयसँगको मिलेमतोमा १०० रोपनीभन्दा बढी जग्गा हाउजिङले कब्जा गरेको बताए । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मा स्थानीय निकायको भएपनि स्थानीय तहले नै हाउजिङसँग गोप्य मिलेमतो गरेको उनले आरोप लगाए । खत्रीले भने, ‘यो विषयमा सम्बन्धित स्थानमा कुरा राख्दा कुनै पनि हिसाबले सरकारी जग्गा हिनामिना हुन दिँदैनौं भन्ने तर कामचाँही रोक्न कसैले पनि सकेनन् ।’ जग्गा कब्जामा राजनीतिक पार्टीका नेताहरु नै हाउजिङ कम्पनीसँग साँठगाँठ गरेको समाचार बाहिर आएको उनले बताए ।

सबै गाउँलेहरु एकिकृत भएर सार्वजनिक जग्गा, सम्पत्तिको रक्षा गर्न नागरिक समिति गठन गरेको उनले जानकारी दिए । उनले भने, ‘आज हामी सरकारी सम्पत्ति सुरक्षा र सम्पत्ति हिनामिना नहोस् भनेर यहाँसम्म आएका छौै ।’ सरकारी सम्पत्तिचाँही सरकारकै हुने तर सबै भौत्तिक संरचनाचाँही कम्पनीको अनुकूल निर्माण गर्न नहुने उनले बताए ।

सदस्य खत्रीले अबको केही दिनमा पनि हाउजिङको काम नरोकिएमा कानुनी रुपमा अगाडी बढ्ने चेतावनी दिए । यसको बारेमा वकिलसँग पनि कुरा भइरहेको उनले बताए । प्रधानमन्त्री कार्यालयमा गएर कुरा राख्दा समेत सुनुवाई नभएको उनले बताए । त्यस्तै, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई कुरा राखेपनि तत्काल काम रोक्ने आश्वासन दिइएपनि काम नरोकिएको उनले गुनासो गरे ।

प्रधानमन्त्री कार्यालयदेखि वडासम्म जाँदा पनि काम नभएकोमा थकित हुँदै उनले भने, ‘पैसाको अगाडी कसैको पनि केही नलाग्दो रहेछ । पैसासँग सबै डराउने रैछन् । सकिदैन रहेछ । ’ कलम बलियो हुने भन्दै आज पत्रकारको सहायता लिन आएको उनले बताए । यो विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजूरीमा परेको छ । समितिले प्रमाणित दस्तावेजसहित जग्गा कब्जा गरिएको भन्दै तत्काल कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया