‘सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख र मन्त्री बनाएँ’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा सशस्त्र द्वन्द्वका कमाण्डरहरूलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको बताएका छन् ।
बुधवार बर्हिगमन भएका जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्घर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकाशमा परेका पूर्व जनमुक्ति सेनाहरूलाई पार्टीमा समायोजन गर्ने गरि विशेष प्रदेश कमिटी बनाउने पनि बताए।
उनले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनकरूपमा समायोजन गर्ने नीतिगत निर्णय आफूले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाएकोरनपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मालोचनासमेत गरेका छन्।
अध्यक्ष प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सशस्त्र द्वन्द्वमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि त्यो निर्णय लुकाइएको बताए ।
उनले सशस्त्र द्वन्द्वका घाइतेहरूलाई उपचार खर्च बढाउन, जनजीविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरे पनि अस्वीकार गरेको पनि बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया