प्रचण्डलाई ओलीको चेतावनी :उपद्रो मच्चाएर हिँड्ने जमाना गयो, कानुनको पालना गर्न सिक्नुस्

नेपालखोज २०७७ माघ २२ गते १७:१०

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न आग्रह गरेका छन् ।

किसान महासंघको भेलामा बोल्दै ओलीले प्रचण्ड–नेपाल समूहका नेताहरुले एसपी, डीडएसपीहरुलाई धम्की दिएको आरोप पनि लगाएका छन् । “उहाँहरु आक्रामक ढंगले आउँनु हुन्छ । नियम कानुन तोड्नु हुन्छ । धाकधक्कु लगाउन खोज्नुहुन्छ । अनि प्रमुख जिल्ला अधिकारी, एसपी, डीएसपी, इन्सपेक्टर, सिडियोलाई हप्कीदप्की गर्नुहुन्छ । कानुनको पालना गर्न सिक्नुस् हप्कीदप्की गर्ने होइन,” उनले भने, “प्रचण्डलाई म सम्झाउन चाहन्छु ती दिन गए । जतिबेला तपाईँ संविधान, कानुन मान्दिन भनेर उपद्रो मच्चाएर हिँडनुभएको थियो । त्यो जमाना गयो । कानुनको पालना गरेर चल्नुस् ।”

ओलीले प्रचण्ड–नेपाल समूहको हड्तालमा जनताको तरकारी बाटोमा फ्यालेर दुःख दिएको बताए । उनीहरुसँग जनता नभएपछि आफैं यहाँ छौं भन्दै जनताले दुःख पाएको रमिता हेर्न प्रचण्ड–नेपाल गाडी, मोटरसाइकलमा हिँडेको भन्दै कटाक्ष गरे ।

हामी यहाँ छौं लेखिएको पोष्टर प्रचण्ड–नेपालको ब्राण्ड भएकोे भन्दै हामी यहाँ छौं लेखिएको जति उनीहरुको कार्यकर्ता भएको ओलीले टिप्पणी गरे ।

प्रतिक्रिया