शुक्रबार, चैत १६, २०८०

सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

नेपालखोज २०७७ माघ २२ गते २१:२८

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई) को आबूधाबीमा जारी टि-१० लिगमा दुई विकेट लिएका छन् ।

डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनि आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ । मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो ।

१२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनि एउटै ओभरमा दुई विकेट लिन सफल भए ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिए । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किए। कामीले दुई ओभरमा मात्र १० रन खर्चिए। कामीले जारी टी-१० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिए।

युएईमा जारी टी-१० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन्। खड्का टी-१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन् ।

प्रतिक्रिया