आइतबार, जेठ ६, २०८१

नियमित काममा फर्किए वीर अस्पतालका आवासीय चिकित्सक

नेपालखोज २०७७ माघ २३ गते १५:१७

काठमाडौं । कोभिड–१९ जोखिम भत्ताको माग राख्दै आन्दोलनरत वीर अस्पतालका आवासीय चिकित्सकहरु आज (शुक्रबार)बाट नियमित काममा फर्किएका छन् । बिहीबार साझँ आन्दोलनरत आवासीय चिकित्सक र वीर अस्पताल प्रशासनबीच जोखिम भत्ता उपलब्ध गराउने सम्बन्धमा ४ बुँदे सहमति भएपश्चात् चिकित्सकहरु नियमित काममा फर्किएका हुन् ।

कोरोना संक्रमितको उपचारमा खटिएका सबै आवासीय चिकित्सकहरुलाई सरकारको निर्देशिका अनुसार सम्पूर्ण भत्ता उपलब्ध गराउने सहमतिपछि चिकित्सकहरु नियमित काममा फर्किएको आरएएनका अध्यक्ष डा. किरण पाण्डेयले जानकारी दिए ।

सहमतिअनुसार गत वर्षको चैतदेखि हालसम्म कोरोना संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकहरुले जोखिम भत्ता पाउने छन् । तर, सबै महिनाको जोखिम भत्ता भने एकमुष्ट पाउने छैनन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त बजेट अप्रयाप्त भएका कारण तत्कालका लागि निश्चित मापदण्डको आधारमा रेजिडेन्ट डाक्टरलाई भत्ता प्रदान गर्ने सहमति भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया