शनिबार, जेठ ५, २०८१

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि

नेपालखोज २०७७ माघ २५ गते २१:२२

काठमाडौं । बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । गत बुधबार विद्यालय गएकी भागरथीको शव बिहीबार विभत्स अवस्थामा फेला परेको थियो ।

सनातन धर्म माध्यमिक विद्यालयको कक्षा १२ मा पढ्ने भट्ट बुधबार साँझसम्म घर नफर्किएपछि आफन्तले प्रहरी र छिमेकी गुहारेका थिए । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

जिल्ला अस्पताल बैतडीमा गरिएको पोष्टमार्टमले भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पोष्टमार्टममा संलग्न चिकित्सकहरुले भट्टको बलात्कार भएको रिपोर्ट दिएका छन् ।

गृहमन्त्री बादलको त्यो अभिव्यक्तिले निम्त्याएको यो हत्याकाण्ड

घटनास्थलमा तालिम प्राप्त कुकुरलाई लैजाँदा भट्टको मोबाइल भेटिएको थियो । प्रहरीले उनको मोबाइललाई केन्द्रमा राखेर प्राविधिक पाटोबाट अनुसन्धान अघि बढाएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र सीआईबीका डिएसपीको नेतृत्वमा छुट्टा–छुट्टै टोली परिचालन गरिएको छ ।

सीआईबीबाट निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुर पुगेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ ।

प्रतिक्रिया