चितवनमा पछिल्लो छ महिनामा सडक दुर्घटनामा ५९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय चितवनमा सवारी दुर्घटना बढ्दै गएको छ । चितवनमा पछिल्लो छ महिनामा दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाएका छन् ।
साउनयता भएका २५० वटा दुर्घटनामा ५९ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी जिल्लामा करिब ५०० मानिस घाइते भएको चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङले जानकारी दिए ।
मुग्लिन–नारायणगढ सडक खण्डमा दुर्घटनाको दर घट्दो क्रममा रहे पनि पूर्वी चितवनमा दुर्घटना बढ्दै गएको छ । जिल्लामा भएका कुल दुर्घटनामध्ये पूर्वी चितवनमा मात्र करिब ७० प्रतिशत रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनाको मुख्य कारक चालकको लापरबाही, साँधुरो सडक, मादक पदार्थ सेवन रहेको प्रहरी प्रमुख गुरुङले बताए । दुर्घटना न्यूनीकरणको लागि जिल्लामा प्रहरीले गरेको सवारी चेकजाँचका क्रममा २० हजार सवारी साधनलाई कारबाही गरेको प्रहरीले जनाएको छ ।
यो बीचमा सवारी साधनलाई कारबाही गरेबापत प्रहरीले डेढ करोड राजस्व संकलन गर्न सफल भएको छ । दुर्घटना न्यूनीकरणको लागि प्रहरीले सवारी साधन चेकजाँच र जनचेतनाको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको छ ।
प्रतिक्रिया