शनिबार, माघ १२, २०८१

हाम्रो लडाइँ पदको लागि हैन : प्रचण्ड

नेपालखोज २०७७ माघ २६ गते १७:२४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुको लडाइँ पदको लागि नभएर बिचार, सिद्धान्त र प्रणालीको लागि भएको बताएका छन् ।

Advertisement

सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘हाम्रो लडाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो । तर, प्रतिक्रान्ति गर्न क्रान्तिकारी विचारलाई भुत्ते बनाई दिने, क्रान्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति सकिन्छ बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ,’ उनले भने–‘यो सच्चाइ बुझ्न सकिएन भने हामीले लडाइँ हार्छौ । त्यसकारण यो पदको लडाइँ हैन । अग्रगमन र प्रतिगमनको लडाँई हो ।’

ओली जनताबाट टाढिएको दाबी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने–‘हामी जनताको पक्षमा गयौं, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गयौं, संविधानको पक्षमा गयौं । सडकमा हामीलाई गर्व छ । तर, केपी लोकतन्त्र, संघीयता, जनताबाट टाढा गए । संविधानलाई घात गर्ने कुत्सित मनाशायबाट गए त्यसकारण उनले हारे ।’

पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया