भारतको उत्तराखण्डमा हिम पहिरो : ११ नेपाली वेपत्ता (नामावलीसहित)

काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीमा परी कम्तिमा ११ जना नेपाली वेपत्ता भएका छन् ।
उत्तराखण्डको चमोली जिल्ला प्रहरीले सार्वजनिक गरेको वेपत्ता सूचीमा ११ जना नेपाली छन् । हराइरहेका नेपालीमध्ये तीन जना तपोवनस्थित एनटीपीसीको जलविद्युत आयोजना, सात जना ऋषिगंगा जलविद्युत परियोजनामा र एक जना रेणी गाउँमा मजदुरी गर्दै आएको बताइएको छ ।
तीमध्ये तपोवन आयोजनामा काम गर्ने सोहन चौधरीको मात्र नेपालको ठेगाना कैलालीको टीकापुर भनिएको छ । वेपत्ताको सूचीमा शंकर चौधरी, विष्णु मल्ल, गणेश नेपाली, जंगबहादुर नेपाली, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह र रमेशको नाम छ ।
उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर वेपत्ता भएका १५ मध्ये ४ नेपालीको उद्धार गरिएको छ ।
उद्धार गरिएका नेपालीहरुमा चित्रबहादुर, बसन्तबहादुर, सन्तबहादुर र किरणबहादुर भएको खुलेको छ । उनीहरुको उपचार भइरहेको छ । तिमध्ये प्युठानको गौमुखी गाउँपालिकाका बसन्तबहादुरले उपचारमा कुनै समस्या नभएको बताएका छन् ।
भारतीय प्रहरीले घटनामा परेर अझै १ सय ७५ जना हराइरहेको जनाएको छ । अहिलेसम्म दुई दर्जन नागरिकको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया