रामकुमारीलाई ओलीको ठाडो आदेशमा पक्राउ गरियो : प्रचण्ड

नेपालखोज २०७७ माघ २९ गते १४:२२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् ।

पार्टी कार्यालय परिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ नेपाल केन्द्रीय समिति राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रचण्डले तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् ।

प्रहरीले झाँक्रीलाई हिजो नै पक्रन खोजेपनि आफूहरुको जड बलले पक्राउ गर्न नसकेको उनको दाबी थियो ।

‘पुलिसले हिजै पक्राउ गर्न बल गरेको थियो । हामीले नपक्रन जोड गरेका थियौं । तथाकथित राष्ट्रपतिको विरोध गरेकोमा पक्राउ गरेको भन्नेछ,’ प्रचण्डले भने ।

ओलीले आफ्ना समूहका नेतालाई पक्राउ गर्न सुरु गरेकाले त्यसविरुद्ध आन्दोलन सशक्त बनाउने उनको भनाई थियो ।

‘उनीहरुले कहाँ प्रहार गर्न खोजेको छ त्यो त देखियो नी । लोकतन्त्र माथि ताला लगाउने काम भएको छ,’ उनले भने ।

झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै घरमै गएर पक्राउ गरेको थियो ।

प्रतिक्रिया