शनिबार, मंसिर २९, २०८१

भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

नेपालखोज २०७७ माघ ३० गते १८:५४

काठमाडौं । नेपाली कांग्रेसले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन्।

कांग्रेसले बलात्कार र हत्याका सबै घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन पनि माग गरेको छ । विज्ञप्तिमा भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो हप्ता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, पीडितको शव अस्पतालमा रहिरहनु र परिवारजनले पीडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीररूपमा लिएको छ भनिएको छ ।

बलात्कारका घटना बढ्नु चिन्ताको विषय भएको कांग्रेसको भनाइ छ । जिम्मेवार तहबाट विकसित देशहरूमा पनि यस्तै हुन्छ भन्ने गैरजिम्मेवार जवाफले सरकारको उदासिनता प्रकट गरेको भन्दै कांग्रेसले महिलामाथि हिंसा, बलात्कार तथा हत्याका अपराध बढेर जाँदा राज्यले विशेष नीति अख्तियार गर्न र प्रशासन संयन्त्रलाई थप तदारुकता बनाउन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया