बुटवल आएर जनसभा हेर्न प्रचण्डलाई ओलीको आग्रह
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जन सहभागिता हेर्न यहाँ आउनुस् केपी जी’ भनि दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन् ।
बुटवलमा शनिबार नेकपा ओली समूहले गरेको जनसभा कार्यक्रममा बोल्दै प्रचण्ड–नेपाल पक्षले काठमाडौंमा गरेको विरोधसभाका लागि देशभरबाट मान्छे ओसारेपनि जनसहभागिता नदेखिएको बताए ।
बुटवलमा नेकपा ओली समूहले आज गरेको जनसभामा देशभरबाट नभइ प्रदेशस्तरको सभामा नै हजारौंको सहभागिता रहेको ओलीले बताए ।
‘अस्ति ३ दिनअघि मात्रै देशभरबाट मान्छे जम्मा गरेर अलीकति मान्छे देखेपछि मान्छे हेर्न यहाँ आउ केपी ओली भनेर केही मान्छेले भनेका थिए । आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको यो बुटवल आयोजित जनसभा हेर्नका लागि आउन म उहाँहरुलाई आग्रह गर्न चाहन्छु’, ओलीले प्रचण्डको नामै नलिइ भने, ‘आउनुस् जनसमर्थन कस्तो हुन्छ । उनले ‘तपाईहरुले यसको जबाफ दिनु भएको छ’ भन्दै आयोजकलाई धन्यवाद समेत दिए ।
‘यो सभास्थलमा मात्रै होइन मेरो दाहिने पट्टी नदेखिने गरी टाढासम्म जनसमूदायको उपस्थिति छ । मेरो देब्रेपछि पनि, त्यसैगरी विशाल जनसमूदाय तालजालीभन्दा बाहिर सडकसम्म छ । म आउँदा देखेँ, कार्यक्रमस्थलमा बस्ने ठाउँ नभएर कार्यक्रम सुनेर दशौ हजारको संख्यामा बाहिर सडकमा हुनुहुन्छ । तपाईँहरुको उपस्थितिलाई म सलाम भन्न चाहन्छु,’ उनले भने ।
प्रतिक्रिया