प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाआजदेखि संवैधनिक इजलासमा जवाफी बहस

नेपालखोज २०७७ फागुन २ गते ११:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज (आइतबार)देखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ ।

गत बिहीबार सरकारी पक्षको बहस सकिएको थियो भने आज उनीहरुका तर्फबाट आएका तर्कको जवाफ निवेदक पक्षले लिनेछन् । यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बढीमा पाँचजनालाई बोल्न दिने बताएका छन् ।

‘अब तपाईंहरू कतिजनाले जवाफ दिनुहुन्छ, त्यहीअनुसार अगाडि बढौँ,’ विपक्षी बनाइएका सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले बहस गरिसकेपछि प्रधानन्यायाधीश जबराले भनेका थिए, ‘तपाईंहरू को–कोले बहस गर्नुहुन्छ ? अधिकतम पाँचजनाले बहस गर्ने गरी निर्णय गर्नुस् ।’

जवाफी बहसका लागि नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायतले तयारी गरेका छन् ।

पूर्वमहान्यायाधिवक्तासमेत रहेका श्रेष्ठका अनुसार मसहित, शम्भु थापा, मेघराज पोखरेल, हरिहर दाहाल, हरि उप्रेती र शेरबहादुर केसीले जवाफ दिने तय भएको छ ।

त्यसका साथै अन्य १२ निवेदकका तर्फबाट क–कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुने बताइएको छ ।

४ माघबाट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको विघटनविरुद्धका १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए ।

गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रतिक्रिया