प्रधानन्यायाधीश जबराको प्रश्न : सरकार ओली कि नेकपा ?

नेपालखोज २०७७ फागुन २ गते १५:२३

काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दामा आजदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ ।

संसद् विघटनको प्रतिरक्षामा सरकारी पक्षले बहस गरेपछि त्यसको जवाफमा फेरि रिट निवेदकको तर्फबाट सुरु भएको हो । बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वर्तमान सरकार केपी शर्मा ओलीको हो कि नेपाल कम्युनिष्ट पार्टीको भनेर प्रश्न गरेका छन् ।

अधिवक्ता दिनमणि पोखरेललाई प्रधानन्यायाधीश जबराले यो प्रश्न गरेका हुन् । अर्को सरकार गठन हुन नसके मात्रै विघटनको संवैधानिक व्यवस्था रहेको र प्रतिनिधिसभामा अवरोध सिर्जना गरेर सरकार चलाउन पाउदिनँ भन्न नपाइने भनेपछि प्रधानन्यायाधीश जबराले यस्तो प्रश्न गरे ।

पोखरेलले नेकपाको भनेर जवाफ दिए । तर, प्रधानन्यायाधीश जबराले नेकपाको हो भने उसँग बहुमत छ र धारा ७६ को उपधारा १ बमोजिमको सरकार भएकाले अरु धाराअन्तर्गत सरकार बनाउने कुरा कहाँ छ भनेर प्रश्न गरे ।

तर जवाफमा अधिवक्ता पोखरेलले सरकार कसरी बन्छ भन्ने विषय संसदीय प्रक्रियामा मात्र थाहा हुने र यसमा अदालतले चिन्ता गर्नुपर्ने विषय नभएको बताए ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिनेछ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

एमिकस क्युरीलाई राय दिन बढीमा तीन दिने तयारी छ । त्यसपछि सर्वोच्चले फागुन दोस्रो साताभित्र फैसला दिने अनुमान छ ।

प्रतिक्रिया