राजनीतिक स्वार्थको लागि पशुपतिनाथलाई उपयोग गरियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् ।
नेकपा केन्द्रीय संघर्ष समितिले आइतबार चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले आफ्ना नेताहरुको प्रस्तुतीलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको बताएका हुन् ।
पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफूहरुले सम्मान गर्ने उनको भनाइ छ । यस्तो संवेदनशिल पक्षलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उनले सम्बन्धित पक्षलाई अनुरोध गरे ।
उनले भने, ‘हाम्रो संविधानले नेपाललाई धर्म निरपेक्ष राज्य भनेको छ, त्यसको अर्थ राज्य धर्मबाट अलग हुने भनेको हो। तर नेपाली जनताको धार्मिक आस्थाको, धार्मिक स्वतन्त्रताको हामी उच्च सम्मान गर्दछौँ। त्यसका निम्ति हामिले संघर्ष पनि गरेका हौँ ।’
हरेक व्यक्तिलाई धर्म मान्न पाउने छुट रहेको र हरेक व्यक्तिले आफ्नो सनातनदेखिको वा आफ्नो विवेक अनुसारको धार्मिक आस्था अनुसार अगाडि बढ्न पाउने छुट भएको उनको भनाइ छ । तर राजनीतिका लागि धर्मलाई दुरुपयोग गर्न नहुने उनले बताए ।
श्रेष्ठले भने, ‘हाम्रा नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथ जस्तो धार्मिक संस्थालाई संकिर्ण राजनीतिक स्वार्थका निम्ति उपयोग गर्ने, यस्तो संवेदनशिल पक्षहरुलाई निकृष्ट, तुच्छ स्वार्थको निम्ति दुरुपयोग गर्ने काम नगर्न पनि हामी सबै सम्बन्धितहरुलाई अनुरोध गर्न चाहान्छौँ।’

प्रतिक्रिया