शनिबार, वैशाख १३, २०८२

कोरोनाविरुद्धको दोस्रो खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्र

नेपालखोज २०७७ फागुन ३ गते २१:३२

काठमाडौँ । कोरोना भाइरसविरुद्धको दोस्रो खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ता भित्रमा लगाइने भएको छ । खोपको बारेमा भइरहेका विभिन्न अनुसन्धानले पहिलो डोज लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र लगाउँदा अझ बढी प्रभावकारी हुने पत्ता लागेसँगै खोप विज्ञ टोलीले सोही अनुसार गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को माहामारी र ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खोप विज्ञ तथा प्राविधिक समितिका संयोजक डा. श्यामराज उप्रेतीले नेपालमा अहिले खोप लगाएका व्यक्तिहरुलाई २८ दिन पुगेपछि दोस्रो डोज दिने तयारी भएकामा प्रभावकारिता मध्यनजर गर्दै ८ हप्तापछि लगाउन मन्त्रालयलाई सिफारिस गरिएको बताए ।

उनले भने, ‘नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड खोपको बारेमा विभिन्न अनुसन्धान भइरहेका छन् । पछिल्लो अनुसन्धानले पहिलो खोप लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्रमा दोस्रो डोज लगाउँदा त्यसको प्रभावकारिता बढी हुने भन्ने देखिएको छ । सोही अनुरुप मन्त्रालयलाई सिफारिस गरिएको हो ।’

प्रतिक्रिया