बिहीबार, वैशाख १३, २०८१

मुस्लिम देशमा राम, कृष्ण र शिव मन्दिर !

नेपालखोज २०७८ पुष २५ गते ८:०६

काठमाडौं । मुस्लिम देशमा हिन्दु मन्दिर त्यसो त अहिले संसारभर हिन्दु मन्दिर खुलेका छन् । खासगरी युरोप-अमेरिकामा हिन्दुहरुको बसाइँ बढे सँगै राम, कृष्ण, शिवलगायतका देवी-देवताको मन्दिर स्थापना गर्ने क्रम बढेको छ ।

यसैगरी कतिपय मुस्लिम बाहुल देशमा पनि हिन्दुहरुको उपस्थिति छ । कतिपय मुस्लिम राज्यमा त पहिले देखिनै हिन्दु मन्दिर भएको पाइन्छ भने कतै भएका मन्दिर नासिने क्रममा पनि छन् । पाकिस्तानको चकवाल जिल्लास्थित कटासराज मन्दिरकाे निर्माण सातौं शताब्दी मै भएको थियो । यो मन्दिर परिसरमा राम, हनुमान तथा शिव मन्दिरहरु छन् ।

पाकिस्तानी पुरातत्त्वविज्ञहरु यो मन्दिरको संरक्षणमा लागिरहेका छन् भने पाकिस्तानका अन्य ठाउँमा पनि पुराना तथा नयाँ हिन्दु मन्दिरहरु छन् । मलेसियामा तमिल समुदायका हिन्दुहरुको राम्रो बसोबास छ । त्यसैले पनि त्यहाँ थुप्रै हिन्दु मन्दिर छन् । मलेसियाको गोमबाकस्थित बातु गुफाहरुमा कैंयन् हिन्दु मन्दिर छन् ।

य‍ो गुफाको प्रवेश स्थलमा हिन्दु देवता मुरुगनको विशाल प्रतिमा स्थापना गरिएको छ । इन्डोनेसिया संसारको सबैभन्दा ठूलो मुस्लिम देश भए पनि त्यहाँको संस्कृतिमा हिन्दु संस्कारको झलक पाइन्छ । इन्डोनेसियामा ठूलो संख्यामा प्राचीन हिन्दु मन्दिरहरु छन्, खासगरी बालीमा । त्यहाँ नवौं शताब्दीमा स्थापित मन्दिर पनि छ ।

बंगलादेशको जनसंख्या १६ करोडभन्दा बढी छ जसमा लगभग दश प्रतिशत हिन्दु छन् । बंगलादेशको राजधानी ढाकास्थित ढाकेश्वरी मन्दिरमा दर्शनार्थीको भिड रहन्छ भने बंगलादेशका विभिन्न भागमा पनि अरु थुप्रै मन्दिर छन् ।

ओमानको राजधानी मस्कटमा शिव मन्दिर स्थापना गरिएको छ । त्यसका अतिरिक्त मस्कटमा एक-एक वटा श्रीकृष्ण मन्दिर तथा गुरुद्वारा पनि छन् । संयुक्त अरब इमिरेटसमा जम्मा एउटा मन्दिर छ । दुबईस्थित यो मन्दिरलाई शिव-कृष्ण मन्दिर भनिन्छ ।

उता अबुधाबीमा पनि एउटा हिन्दु मन्दिर निर्माणको क्रममा छ । बहराइनमा काम गर्न जाने हिन्दुहरुको संख्या उल्लेख्य छ । यसैले पनि बहराइनमा शिव मन्दिर स्थापना गरिएको छ । अफगानिस्तानमा अहिले १००० जति मात्र हिन्दु छन् । उनीहरु काबुल तथा अन्य केही ठूला सहरमा केन्द्रित छन् ।

अफगानिस्तानमा हुने उथलपुथलमा हिन्दु मन्दिर तथा हिन्दु समाज ठूलो सिकार हुँदै आएको छ । यद्यपि काबुलमा अहिले पनि केही मन्दिर बाँकी छन् । लेबनानको जाइतुनमा पनि हिन्दु मन्दिर छ । लेबनानमा भएका धेरैजसो हिन्दु २००६ को इजरायल-हिज्बुल्लाह युद्धताका नै विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया