समुदायस्तरमा कोरोनाविरुद्धको खोप फागुन अन्तिम सातादेखि

काठमाडौं । सरकारले यही फागुन अन्तिम सातादेखि समुदायस्तरमा कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । फागुन अन्तिम सातादेखि सुरु हुने यो अभियान करिब १० दिनसम्म चल्नेछ ।
यसअन्तर्गत खोपको उपलब्धता हेरी ५५ वर्षमाथि उमेर समूहलाई लगाइनेछ । त्यसमा पनि ७५ वर्ष उमेरमाथिको समूहलाई प्राथमिकतामा राखिएको सरकारी अधिकारीले बताएका छन् । कोभिडको सबैभन्दा बढी जोखिममा रहेका ज्येष्ठ नागरिकलाई समयमै खोप सुनिश्चित नगरेर उपेक्षा गरेको आरोप लाग्दै आएको छ ।
स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्ध खोप अभियान सुरु गर्ने तयारी रहेको जानकारी दिए । जसमा ७५ वर्ष माथिकालाई अनिवार्य खोप लगाइनेछ । प्रशस्त खोप उपलब्ध भए ५५ वर्ष माथिकालाई लगाइने उनले बताए ।
मुलुकमा हालसम्म ५५ वर्ष माथिका व्यक्ति कोभिडबाट बढी प्रभावित देखिएका छन् । नेपालमा ७५ वर्ष माथिका नागरिकको संख्या करिब ६ लाख छ । सरकारले खोपको उपलब्धताका आधारमा फागुन २३ देखि खोप लगाउने उमेर समूह चयन गर्ने नीति लिएको छ ।
महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलका अनुसार सबैभन्दा पहिले ७५ वर्ष माथिकालाई चयन गरिन्छ, त्योभन्दा बढी खोप भए ७० वर्ष, ६५ वर्ष, ६० वर्ष र प्रशस्त खोप भए ५५ वर्ष माथिकाहरूका लागि खोप अभियान सञ्चालन गरिने छ ।
फागुन अन्तिम सातादेखि समुदायमा सुरु गरिने खोप अभियानमा सम्भवतः अक्सफोर्ड–अस्ट्राजेनेकाको ‘एजेडडी १२२२’ खोप नै उपयोग गरिनेछ ।

प्रतिक्रिया