बुधबार, जेठ १, २०८२

राष्ट्रिय किताबखानाका शाखा अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखोज २०७७ फागुन ५ गते १५:५३

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईंसहित ३ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको काम छिटो गरिदिने भनी घुस लिएको अभियोगमा प्रसाईंसहित हलुका सवारी चालक सुरेशप्रसाद नेपाल र उक्त किताबखानामा क्यान्टिन सञ्चालन गर्ने सुदर्शन न्यौपानेविरुद्ध आरोप पत्र दायर गरिएको हो ।

उक्त मुद्दामा ५२ हजार बिगो कायम गरिएको छ ।

‘अनुसन्धानको सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) ताहाचलका शाखा अधिकृत धनेश्वर प्रसाईंले सेवाग्राहीको काममा आलटाल गरी क्यान्टिन सञ्चालक सुदर्शन न्यौपानेलाई सेवाग्राहीसँग रु. ५२,०००।– घुस/रिसवत रकम माग गर्न लगाई सुदर्शन न्यौपानेले भने अनुरूप हलुका सवारी चालक सुरेशप्रसाद नेपालले उक्त घुस रकम लिएको तथ्य पुष्टि हुन आएको हुँदा निज धनेश्वर प्रसाईंले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसूर भएकोले निजलाई बिगो रु ५२,०००।– (बाउन्न हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिइएको छ,’ अख्तियारले बुधवार विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

प्रतिक्रिया